वाँके । चाडपर्व नजिकिएसँगै भारतबाट फर्किने नेपालीको चाप सीमा नाकामा ह्वात्तै बढेको छ । नेपाल फर्कनेहरुको लर्को लाग्न थालेपछि नेपाल–भारत सीमाक्षेत्रको नेपालगञ्जस्थित जमुनाहा नाकामा नेपालीहरु ठगिने क्रम पनि बढेको हो ।
कारोना महामारीको समयमा बल्लतल्ल नेपाली सिमानासम्म आइपुगेका सर्वसाधारण नेपालीलाई होटल व्यवसायी,अटोरिक्सा र बिचौलियाबाट ठग्ने क्रम शुरु भएको बताइन्छ ।
सीमामै पुगेर होटल व्यवसायी, अटोरिक्सा र बिचौलियाका कारण भारतबाट फर्किने नेपाली नागरिक हैरान भएका हुन् । भारतबाट नेपाल छिर्न नपाउँदै उनीहरुलाई हात समातेर कसैले जबर्जस्ती अटोरिक्सामा राख्ने,कसैले होटलमा लैजान तान्ने तँछाड मछाडले नेपालीहरु दिक्क भएका हुन् ।
सर्वसाधारणलाई सताउने र ठग्ने अटोरिक्सा,होटल व्यवसायी र बिचौलियाहरुको गतिविधिमाथि प्रहरीले विशेष निगरानी बढाएको छ । यसबीच जमुनाहा नाकाबाट नेपालीलाई ठग्न खोज्ने दुई जना बिचौलियालाई प्रहरीले प्रकाउ गरेको छ ।
सीमा क्षेत्रमा नेपाली नागरिकले सास्ती पाएको जनगुनासो बढेपछि बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले छड्के अनुगमन गर्नुभएको बताइन्छ । बिचौलियाले नेपाली मजदुरलाई होटलमा पुर्याइदिने भन्दै मोटो रकम असुल्ने गरेको जनगुनासो आएपछि उनीहरु पक्राउ परेका हुन् ।
डिएसपी न्यौपानेले सीमा क्षेत्रमा अस्तव्यस्तको अवस्था देखिएपछि तत्काल दुई जनालाई पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार कतिपय यात्रुसँग जमुनाहा नाकादेखि बसपार्कसम्मको भाडा ७ सय रुपैयाँसम्म लिएको गुनासो प्राप्त भएको छ ।
यसैबीच सीमाक्षेत्रमा आवत जावत व्यवस्थापन गर्न नसकेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले १७ जना प्रहरीलाई सिमानाबाट तानेको छ ।
साभारः जनआस्थावाट