नेपाल टेलिकमको सहुलियत इन्टरनेटमा बढ्यो आकर्षण

काठमाडौँ । नेपाल टेलिकमले सहुलियत दरमा सुरु गरेको फाइबर इन्टरनेट सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । गत असोज ३० गतेदेखि सुरु भएको सेवामा १८ दिनभित्र ११ हजार ७६४ नयाँ ग्राहक जोडिएका छन् ।

सरकारको डिजिटल नेपाल अभियानअन्तर्गत सर्वसाधारणको इन्टरनेट पहुँच सहज र सुलभ बनाउने उद्देश्यले टेलिकमले सहुलियत प्याकेज ल्याएको हो। इन्टरनेट सेवा महँगो भएको गुनासो बढेपछि सरकारले मूल्य घटाउने विषयमा गृहकार्य गर्दै आएको थियो ।

नेपाल टेलिकमका अनुसार असोज ३० देखि कात्तिक १६ गतेसम्म नयाँ सेवा लिने ग्राहकमध्ये ४० प्रतिशतले सहुलियत दरको प्याकेज रोजेका छन् । गत वर्ष कात्तिक महिनाभरि दुई हजार ९८१ जनाले मात्र फाइबर इन्टरनेट जडान गरेका थिए ।

पछिल्लो तीन सातामा इन्टरनेट जडानका लागि टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन् ।

यसैबीच, नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र दुर्गम क्षेत्रसहित एक हजार ६०० स्थानमा फोरजी–एलटीई सेवा विस्तार गर्ने तयारी गरेको छ । सहुलियत इन्टरनेट र फोरजी विस्तारमार्फत डिजिटल पहुँचलाई थप सहज बनाउने लक्ष्य लिइएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस