काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् ।
गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली लगाइसकेपछि सम्बोधन गर्दै केसीले उक्त कुरा बताएका हुन् । ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न तत्काल संयन्त्र सञ्चालन गर्नेछौं । सचिवालयमा त्यो संयन्त्र बनाइन्छ’ केसीले भने ।
त्यस्तै नागरिकले प्रहरी देख्दा डर होइन भरोसा महसुस बनाउने पनि उनले बताएका छन् । भ्रामक सूचना, डिपफेक, अनलाइन ठगी, क्रिप्टो करेन्सी, वैदेशिक रोगजार ठगी अहिलेको चुनौती रहेको पनि उनले औंल्याए ।
नेपाल प्रहरी र नागरिकबीचको सम्बन्ध र विगतका घटनाहरुबाट बल प्रयोगबारे पनि धेरै पाठ सिकेको पनि डा. केसीले बताए । सरुवा–बढुवामा पनि सिस्टम बसालेर काम गर्नुपर्ने अवस्था रहेको उनले औंल्याएका छन् ।
अहिलेको यो चुनौतीलाई आफूले अवसरलाई ग्रहण गरेको बताउँदै केसीले भने, ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सम्बोधन गर्नुपर्ने अवस्था छ । जुनियर र सिनियर प्रहरीलाई पनि अकाउन्टेबल बनाउनुपर्ने अवस्था छ ।’
प्रहरी सेवा अन्य पक्षसँग पनि सम्बन्धीत रहेको बताउँदै आईजीपी केसीले दलिय प्रभावबाट मुक्त हुन सहयोगको समेत अपेक्षा गरेका छन् । संविधान र कानून प्रति अविचलित नरही संगठनको मयार्दा र निपक्षतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि केसीले व्यक्त गरेका छन् ।


