भ्योमासँगको सहकार्यबारे दुर्गेश : हिपहप र लोकलाई मिसाएर नयाँ टेस्ट दिन चाहन्छौं

काठमाडौं । निर्विवादरुपमा दुर्गेश थापा र भ्योमा युवापुस्तामा निकै रुचाइएका संगीतकर्मी हुन् । हिपहप संगीतमा भ्योमाको नाम अगाडि आउँछ । लोकपप शैलीमा दुर्गेश पनि अगाडि छन् ।

केही दिनअघि आफ्नो बहुचर्चित अमेरिका टूरबाट फर्किएका दुर्गेशबारे नयाँ खबर छ । उनले पछिल्लो पुस्ताका हिपहप स्टार भ्योमासँग सांगीतिक सहकार्य गर्ने पक्का भएको छ ।

हिपहप मिक्स शैलीमा कम्पोज भैरहेको एक गीतमा यी दुईको कोल्याब सम्भव भएको हो । प्रिज्मा स्टुडियोमा यो गीतको रेकर्ड भैसकेको छ । रेकर्डपछि दुर्गेश र भ्योमा दुवैले प्रशंसकलाई यसबारे जानकारी दिन संयुक्त फोटो बाहिर ल्याएका छन् ।

गीतमा श्यामश्वेत रसाइलीको एरेन्ज, दुर्गेशको शब्द र संगीत, भ्योमाको हिपहप छ ।

भ्योमासँगको सहकार्यबारे दुर्गेशले अनलाइनखबरसँग भने, ‘भ्योमा एउटा राम्रो र्‍यापर हुन् । उनका गीत पनि निकै चलेका छन् । एउटा हिपहप र अर्को लोक लयलाई फ्युजन गर्दा नयाँ टेस्ट हुन्छ भनेर सहकार्य गरेका हौं ।’

आफूहरूको यो सहकार्यलाई प्रशंसकले रुचाउने दुर्गेशले बताए । दुर्गेशले पछिल्लो गीतमा भ्लगर सिसन बानियाँसँग सहकार्य गरेका थिए । अमेरिका र अस्ट्रेलिया टूरबाट दुर्गेश नयाँवर्ष २०२६ को छेकोमा युरोप टूरमा निस्किने तयारीमा छन् भने डिसेम्बर १ मा भारतको सिक्किममा प्रस्तुति दिने तयारी छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस