बाँकेमा एकै घरका ४ जनामा दादुरा सङ्क्रमण

बाँके । बाँकेमा बालबालिकामा दादुरा सङ्क्रमण देखापरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रामा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको हो । 

पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र निलो र सेतो रङको दागलगायत लक्षण देखिएपछि उपचारका लागि अस्पताल लगिएकोमा दादुरा पुष्टि भएको उनले बताए ।

त्यहाँ अरू १७ बालबालिकामा पनि दादुराको आशङ्का गरिएको छ । 

लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालय बाँकेको टोली घटनास्थलमा खटिएको उनले बताए । नेपालले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ ।

दादुराको खोप नलगाएका या खोप पूरा नगरेका व्यक्तिमा दादुरा देखिने खोप सुपरभाइजर श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
प्रतिक्रिया दिनुहोस