दसैँ बिदा सकियो, तर डाक्टर आएनन्, बिरामीको हरिबिजोग

व्यवस्थापन समितिलाई पत्याउँदैन् डाक्टरहरु



दाङ, १ कार्तिक ।
तुलसीपुर-१ भमकेका सन्तोष नेपाली आइतबार श्रीमती मीना नेपालीको प्रसुतिका गराउनका अस्पतालमा आए । तर अस्पतालमा प्रसुति गराउने डाक्टर भएनन् । अस्पतालमा डाक्टर नहुँदा नर्सले उनलाई बाहिर लैजान आग्रह गरे ।

आर्थिक अवस्था कमजोर भएका कारणले उनले बाहिर लैजान सकेनन् र भगवान भरोसामा उनको श्रीमतीले पनि बच्चालाई जन्म दिइन् । ‘डाक्टर थिएनन्, तर बाहिर लैजान सक्ने अवस्था पनि भएन् ।’ उनले भने-‘खै के यो तरिका हो, दसैँ मनाउन गएका डाक्टर फर्किएका छैनन् ।’

यस्तै सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर ५ जामुनेका नबराज बुढाथोकी आइतबार आफ्नो बुवालाई हाडजोर्नी सम्बन्धि उपचार गर्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आए । तर अस्पतालमा करिब २ घण्टासम्म पनि हाडजोर्नी सम्बन्धि डाक्टर आएनन् ।

केहि समयपछि अस्पतालमा डाक्टर नआउने अस्पताल प्रशासनले बताएपछि उनी तुलसीपुरको नीजि अस्पतालमा बुवाको उपचार गराउन बाध्य भए । ‘सरकारी अस्पतालमा सेवा पाउन सकिएन् ।’ उनले भने-‘नीजि अस्पतालमा महंगोमा उपचार गराउन बाध्य भएको छु ।’

तुलसीपुर-११ सुकौराका बमबहादुर डाँगीले पनि अस्पतालमा डाक्टर नहुँदा निकै सास्ती पाए । अस्पतालको प्रसुति सेवामा रहेका डा. बिनोद सिंह र शेखर थापा दसैँ बिदामा बसेका कारण उनले आइतबार बहिनीलाई प्रसुति गराउनका लागि नेपालगन्ज लैजादै थिए, तर बाटोमै भगवान भरोसामै बहिनीले बच्चालाई जन्म दिइन् । ‘यो अस्पताल त रिफर सेन्टर नै हो ।’ आक्रोशित हुँदै उनले भने-‘नाम अनुसारको सेवा दिन नसक्ने अस्पतालको नाम राप्ती प्रादेशिक अस्पताल हो ।’ डाक्टरको गैरजिम्मेवारका कारण आफुहरुले सेवाभन्दा बढी सास्ती पाएको उनले गुनासो गरे ।

चुडामनी वली पनि गर्भवति श्रीमतीलाई जाँच गराउन अस्पताल आएका थिए । बंगलाचुली गाउँपाकिला वडा नम्बर ३ बाट अस्पताल झरेका वलीले डाक्टर नहुँदा नीजि अस्पतालमा श्रीमतीको जाँच गराए । ‘अस्पतालमा डाक्टर रैनछन्’ उनले भने-‘डाक्टर नभएपछि हामी पनि नीजि अस्पतालमा जान बाध्य भयौँ ।

नवराज, चुडामनी, सन्तोष र नबराज त प्रतिनिधिमूलक पात्रमात्रै हुन् । राप्ती प्रादेशिक अस्पतालमा आइतबार उपचार गराउन गएका बिरामीहरु डाक्टरका कुर्सी खालि हुँदा सास्ती भएको छ । अधिकांश डाक्टर दसैँ मनाएर घर नफर्किएका कारण अस्पतालमा आएका बिरामीहरु बाहिर रिफर हुन बाध्य भएका हुन् । आइतबार दिउँसोको दृश्य निकै कारुणिक देखिन्थ्यो । आर्थिक अवस्था कमजोर भएका बिरामी अस्पतालमा पुगेपनि डाक्टर नहुँदा बाहिर जानुपरेको छ ।

अस्पतालमा आइतबारदेखि ओपिडि सेवा शुरु भएको छ । तर दसैँ विदामा बसेका डाक्टर अझै पनि फर्किएका छैनन् । दाङसहित साविक राप्तीका पाँच वटै जिल्लाका नागरिकलाई सेवा दिइरहेको अस्पतालमा डाक्टर नहुँदा बिरामी र बिरामीका आफन्तले सास्ती पाएका छन् ।

अस्पतालको प्रसुति सेवा विभागका इन्चार्ज किरण भण्डारीले अस्पतालमा दसैँदेखि नै प्रसुति सेवाका लागि डाक्टर नरहेको बताईन् । ‘डाक्टर हुनुहुन्न, यो गम्भिर विषयमा म भन्दा पनि अस्पताल प्रशासनले जान्ने कुरा हो ।’ उनले भनिन्-‘दुई जना डाक्टर हुनुहुन्थ्यो , उहाँहरु पनि दसैँ मनाउन गएको फर्किनुभएको छैन् ।

व्यवस्थापन समितिलाई पत्याउँदैन् डाक्टरहरु

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानले अस्पतालमा दरबन्दी अनुसारको डाक्टर पनि नभएको र भएका डाक्टरले पनि तोकिएको समयमा पनि सेवा दिन नसकेको स्विकार गरे । ‘अस्पतालमा डाक्टर पनि छैनन् ।’ उनले भने-‘भएका डाक्टरले पनि ड्युटीको समय पुरा दिदैनन्, मैले सुधार्न सकिन अस्पतालको सेवा ।’

उनले अस्पतालमा भन्दा नीजि अस्पतालमा ड्युटी बढी दिने डाक्टरलाई सरुवा गरेपनि सरकारले फेरि सरुवा गरेर पठाउँदा डाक्टरहरुले पत्याउनै छोडेको बताए । ‘हामीले एक/दुई जना डाक्टरको सरुवा गरेर अरु डाक्टरलाई पनि चेतावनी दिन खोजेका थियौँ ।’ उनले भने-‘तर सरकारले सरुवा गरेका डाक्टरलाई पनि फेरि फिर्ता गरेपछि भएका डाक्टरले पनि पत्याउनै छोडे ।’ उनले अस्पतालको सेवा सुधार गर्नका लागि आफु नेतृत्वमा आएपनि भनेजस्तो सेवा दिन नपाउँदा दुख लागेको बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस