काठमाडौं । असोज १ गतेदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको हो ।
सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार कम्पनीको कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिइन् ।
उनका अनुसार कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा ५ रुपैया तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपौया छूट दिनेछ ।
यस्तै कम्पनीले थापाथली, रामशाहपथ, नक्खु, लगनखेल, सूर्यविनायक, बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु विक्री वितरण हुने बताइएको छ ।
असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।


