काठमाडौं । यमपञ्चकअन्तर्गत आज गाईको पूजा गरी मीठा परिकार खान दिएर गाईपूजा पर्व मनाइँदैछ। हिन्दू धर्ममा गाईलाई पवित्र र पूजनीय जनावरका रूपमा लिने परम्परा रहिआएको छ।
गाईले दिने दूधलाई पोषिलो मानिने र दूध, गोबर तथा गहुँतबाट विभिन्न उपयोग हुने भएकाले धार्मिक तथा सांस्कृतिक रूपमा गाईको विशेष महत्त्व रहेको छ। गाईलाई गौमाताका रूपमा सम्मान गर्ने चलन पनि छ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिएमा पुण्य प्राप्त हुने विश्वास छ। नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीमा विभिन्न धार्मिक कार्यका क्रममा गाईदान गर्ने परम्परा पनि छ। पछिल्लो समय गाईको अभावमा संकल्प गरेर रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्।
गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने धार्मिक विश्वास रहेको छ।


