बंशीकुमार शर्मा/ तिहार नेपाली समाजको मौलिक सांस्कृतिक पहिचान बोकेको महत्वपूर्ण धार्मिक तथा सामाजिक पर्व हो। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वलाई यमपञ्चक तथा दीपावलीका नामले पनि चिनिन्छ। वैदिक सनातन परम्पराअनुसार मनाइने तिहार धार्मिक आस्था, प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक आत्मीयता र सामाजिक सद्भावको अनुपम सङ्गम हो।
मानव सभ्यताको विकासक्रमलाई हेर्दा प्रकृति, पशुपक्षी र मानवीय सम्बन्धको योगदान अतुलनीय रहेको छ। मानव जीवनको संरक्षण, विकास र समृद्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पु¥याउने प्रकृति र जीवजन्तुप्रति सम्मान प्रकट गर्ने विशिष्ट अवसरका रूपमा पनि तिहारलाई लिन सकिन्छ। त्यसैले तिहार केवल धार्मिक अनुष्ठानमा मात्र सीमित पर्व होइन, यसले सम्पूर्ण मानव सभ्यताको विकासमा प्रकृतिको भूमिकालाई स्मरण गराउँछ।
सनातन धर्मावलम्बीहरू प्रकृतिपूजक हुन्। जल, जमिन, जंगल, पहाड, पशुपक्षी तथा सम्पूर्ण प्राणी जगतलाई प्रकृतिका अभिन्न अङ्गका रूपमा सम्मान गर्ने परम्परा सनातन संस्कृतिमा पाइन्छ। तिहारमा काग, कुकुर, गाई, गोरु र गोवर्धन पर्वतको पूजा गरिनु यसै प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको प्रतीक हो। मानिस र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई यस पर्वले जीवन्त रूपमा प्रस्तुत गरेको छ।
तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा धन्वन्तरी जयन्ती मनाइन्छ। आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता धन्वन्तरीको पूजा आराधना गरी स्वस्थ, निरोगी र दीर्घायु जीवनको कामना गरिन्छ। पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा अमृतकलशसहित धन्वन्तरी प्रकट भएका थिए। त्यसैले धन्वन्तरीलाई स्वास्थ्य र आरोग्यका प्रतीकका रूपमा श्रद्धापूर्वक पुजा अर्चना गरिन्छ।
यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने परम्परा छ। मानव सभ्यताको प्रारम्भिक चरणमा प्रकृतिसँग नजिक रहेर जीवनयापन गर्ने मानिसका लागि काग महत्वपूर्ण सूचक मानिन्थ्यो। यसले सम्भावित खतरा तथा वरिपरिको गतिविधिबारे सङ्केत दिने विश्वासका आधारमा कागलाई सन्देशवाहकका रूपमा सम्मान गरिएको धार्मिक तथा सांस्कृतिक मान्यता छ।
दोस्रो दिन कुकुरको पूजा गरिन्छ। मानव जीवनको सुरक्षा, घरको पहरेदारी तथा कठिन परिस्थितिमा सहयोग गर्ने कुकुरप्रति कृतज्ञता व्यक्त गर्दै पूजा गर्ने परम्परा बसेको हो। कुकुरलाई इमानदारी, निष्ठा र सुरक्षाको प्रतीकका रूपमा समेत लिइन्छ ।
तेस्रो दिन गाई र लक्ष्मीको पूजा गरिन्छ। गाईलाई हिन्दू धर्ममा माताका रूपमा सम्मान गरिन्छ। मानव जीवनमा दूध तथा अन्य उपयोगी पदार्थ उपलब्ध गराउँदै कृषि र ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको गाईप्रति सम्मान प्रकट गर्नु यस दिनको विशेषता हो। गाईलाई धन, समृद्धि र पवित्रताको प्रतीकका रूपमा पनि पूजा गरिन्छ। यसै दिन घरघरमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ। घरआँगन सफा गरी दीपावली गर्ने र लक्ष्मीको स्वागत गर्ने परम्पराले स्वच्छता, उज्यालो र समृद्धिको सन्देश दिन्छ।
चौथो दिन गोवर्धन पूजा तथा गोरु पूजा गरिन्छ। कृषि सभ्यताको विकासमा गोरुको योगदान महत्वपूर्ण छ। खेत जोत्नेदेखि ढुवानीसम्मका काममा गोरुले मानव जीवनलाई सहज बनाएको ऐतिहासिक यथार्थ छ। त्यसैले गोरुलाई कृषि जीवनको अभिन्न सहयोगीका रूपमा सम्मान गरिन्छ। यसै दिन गोवर्धन पर्वतको पूजा गर्ने धार्मिक परम्परा पनि छ।
पौराणिक मान्यताअनुसार भगवान् ईन्द्र गोकुलवासीसंग रिसाएरु घनघोर वर्षा गराएर दुख दिन थाले पछि भगवान कृष्णले गोकुलवासीलाई जोगाउन गोवर्धन पर्वत उचालेर आश्रय दिएका थिए। घनघोर वर्षाबाट मानव तथा पशुपक्षीको रक्षा गरेको सम्झनामा गोवर्धन पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। पाहाड भगवान शिवको वासस्थान र माता पार्वती हिमालयकी पुत्री भएको धार्मिक ग्रन्थहरुमा लेखिएको छ । उता पहाड, वनजंगल र जलस्रोतले मानव जीवनलाई दिएको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने अर्थमा पनि यस पर्वको महत्व रहेको छ।
पाँचौँ दिन भाइटीका मनाइन्छ। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउने यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीको सुख, समृद्धि र सुरक्षाको कामना गर्दै उपहार तथा दक्षिणा दिने परम्परा छ।
भाइटीकासँग जोडिएको धार्मिक मान्यता सूर्यपुत्र यमराज र उनकी बहिनी यमुनासँग सम्बन्धित छ। पौराणिक कथाअनुसार यमराज बहिनी यमुनाको निमन्त्रणामा उनको घरमा पाँच दिन बसेका थिए। बहिनीको आत्मीय व्यवहारबाट प्रसन्न यमराजले वर माग्न आग्रह गरेपछि यमुनाले प्रत्येक वर्ष यही दिन भेट्न आउनुपर्ने र दाजुभाइ तथा दिदीबहिनीको प्रेम सधैँ अटल रहनुपर्ने वर मागिन्। यमराजले पनि बहिनीको इच्छा पूरा गर्ने वचन दिएको धार्मिक विश्वास छ। यही मान्यताका आधारमा यमपञ्चक र भाइटीकाको परम्परा सुरु भएको मानिन्छ।
तिहारको अर्को महत्वपूर्ण पक्ष देउसी–भैलो हो। घरघरमा पुगेर नाचगान गर्दै शुभकामना र आशीर्वाद दिने यो परम्परा नेपाली समाजको मौलिक सांस्कृतिक सम्पदा हो। देउसी भैलोमा मनोरञ्जनसँगै सुख, शान्ति, आरोग्यता, दीर्घायु र समृद्धिको कामना गरिन्छ। साथीभाइ, छरछिमेक र समुदायका मानिस एकै ठाउँमा भेला भएर आपसी सद्भाव र एकता प्रकट गर्ने माध्यम पनि देउसी भैलो बनेको छ।
देउसी–भैलोको उत्पत्तिसँग जुम्लाको सिञ्जा राज्यका राजा बलिराजाको प्रसङ्ग जोडिएको पाइन्छ। देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएका होइनौँ, बलिराजाले पठाएका’ भन्ने भट्याइने परम्पराले यस मान्यतालाई बल पु¥याउँछ। जनश्रुतिअनुसार राजा बलिराजाले बालबालिकालाई नाचगान र मनोरञ्जनका लागि घरघरमा पठाउने चलन बसालेका थिए। कालान्तरमा यही परम्परा देउसी–भैलोका रूपमा विकसित भएको विश्वास गरिन्छ । नेपाली भाषाको उद्गमस्थल मानिने सिञ्जा क्षेत्रसँग जोडिएको यो सांस्कृतिक प्रसङ्गले देउसी–भैलोको ऐतिहासिक तथा क्षेत्रीय महत्वलाई थप उजागर गरेको छ।
तिहारमा दीप प्रज्वलन गर्नुको पनि विशेष आध्यात्मिक अर्थ छ। दीपको उज्यालोले अज्ञानरूपी अन्धकार हटाएर ज्ञानरूपी प्रकाशतर्फ अघि बढ्न प्रेरित गर्छ। भयबाट निर्भयता, निराशाबाट आशा र अशान्तिबाट शान्तितर्फको यात्राको प्रतीकका रूपमा दीपावलीलाई लिइन्छ। घर, मठमन्दिर र सार्वजनिक स्थानमा दीप बालेर उज्यालो बनाउने परम्पराले जीवनमा सकारात्मकता र उत्साह सञ्चार गर्छ।
तिहार धार्मिक आस्थासँगै सामाजिक र सांस्कृतिक विविधता जोडिएको छ । नेवार समुदायमा मनाइने म्हः पूजा, आफ्नै शरीरको पूजा गरी आत्मसम्मान र आत्मशुद्धिको कामना गर्ने विशिष्ट परम्परा हो। घरआँगन सजाउने, तोरण टाँग्ने, दीपावली गर्ने, लक्ष्मी पूजा गर्ने तथा सामूहिक रूपमा देउसी–भैलो खेल्ने चलनले यस पर्वलाई थप जीवन्त बनाएको छ।
तिहार कहिलेदेखि मनाउन थालियो भन्ने विषयमा ठोस ऐतिहासिक प्रमाण उपलब्ध नभए पनि यसको परम्परा प्राचीन कालदेखि चल्दै आएको मानिन्छ। गोपालकालीन सभ्यतादेखि सिञ्जा राज्यका राजा बलिराजासम्मका प्रसङ्ग यस पर्वसँग जोडिएर आउने गरेका छन्। यसले तिहारलाई धार्मिक आस्थासँगै ऐतिहासिक र सांस्कृतिक निरन्तरताको पर्वका रूपमा पनि स्थापित गरेको छ।
समग्रमा तिहार मानव जीवन र प्रकृतिबीचको सम्बन्ध, पशुपक्षीप्रतिको सम्मान, पारिवारिक आत्मीयता तथा सामाजिक सद्भावको उत्सव हो। यस पर्वले मानव सभ्यताको विकासमा योगदान पुर्याउने प्रकृति र जीवजन्तुप्रति कृतज्ञ हुन सिकाउँछ भने दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र विश्वासलाई थप प्रगाढ बनाउँछ। दीपावलीको उज्यालोले समाजमा व्याप्त अज्ञान, अन्धकार, विभेद र वैमनस्य हटाउँदै ज्ञान, सद्भाव र सहकार्यको मार्ग प्रशस्त गरोस् भन्ने यसको मूल सन्देश हो।
आरोग्यता, दीर्घायु, ऐश्वर्य र समृद्धिको कामनासहित मनाइने तिहार कुनै एक समुदाय वा परिवारको मात्र पर्व होइन, सम्पूर्ण मानव समाजलाई प्रेम, सद्भाव र सहअस्तित्वको सूत्रमा बाँध्ने साझा सांस्कृतिक उत्सव हो।


