९ लाख बढी रुपियाँको पटाका बरामद गरी नष्ट

कपिलवस्तु । चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका तथा बिक्रीका लागि भण्डारण गरिएका ९ लाख ३० हजार रुपियाँभन्दा बढी मूल्यको पटाका कपिलवस्तुमा बरामद गरी नष्ट गरिएको छ ।

जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको कुल ९ लाख ३० हजार १२२ रुपियाँ मूल्य बराबरको आतिशबाजीका सामग्री (पटाका) नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाको विभिन्न स्थानबाट ३ लाख ३६ हजार रुपियाँ मूल्य बराबरका पटका बरामद गरी शुक्रवार नष्ट गरेको छ । अवैध रूपमा भित्र्याइएका तथा बिक्रीका लागि राखिएका पटका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख मनोहर भट्टले बताए ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तु तथा मातहतका इकाइबाट खटिएको टोलीले ५ लाख ९४ हजार १ सय २२ रुपियाँ मूल्य बराबरका आतिशबाजीका सामग्री बरामद गरेको थियो । बरामद गरिएका ती सामग्री स्थानीय समुदाय र जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

चाडपर्व तथा विशेष अवसरमा पटका पड्काउँदा हुन सक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न अवैध पटका ओसारपसार, भण्डारण तथा बिक्री वितरण नियन्त्रणमा सुरक्षा गस्ती बढाएको छ । सीमावर्ती जिल्ला कपिलवस्तुमा भारतबाट अवैध रूपमा पटका भित्र्याउने र बिक्री वितरण गर्ने प्रवृत्ति अन्त्य गर्न प्रहरीले अनुरोध गरेको छ । गोरखापत्रबाट

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस