तुलसीपुर । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय निता चौधरीले पत्रकारितासँगै उद्यमशीलताको यात्रा पनि सुरु गरेकी छिन् । उनले तुलसीपुर–५ नामीनगरस्थित आफ्नै घरमा निता बुटिक एण्ड टेलरिङ सेन्टर सञ्चालनमा ल्याएकी हुन् । आफ्नो सीप, क्षमता र लगानीलाई उपयोग गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्ने उद्देश्यले करिब ७ लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गरेको चौधरीले बताइन् ।
सञ्चालनमा आएको बुटिक एण्ड टेलरिङ सेन्टरमा महिलाका विभिन्न प्रकारका कपडा सिलाउनुका साथै सुपथ मूल्यमा तयारी तथा अन्य कपडासमेत बिक्री वितरण गरिने उनले जानकारी दिइन् ।
रेडियो प्रकृति एफएमलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध रहेर पत्रकारितामा सक्रिय चौधरीले पेशागत जिम्मेवारीसँगै व्यवसायलाई पनि समय व्यवस्थापन गरेर निरन्तरता दिने बताइन्। पत्रकारिताले समाज र जनताका समस्या बुझ्ने अवसर दिएको बताउँदै उनले उद्यमशीलताले नयाँ अनुभव र सम्भावनासँग जोड्ने विश्वास व्यक्त गरिन् ।
स्थानीयस्तरमै गुणस्तरीय सेवा प्रदान गर्दै ग्राहकको विश्वास जित्ने लक्ष्य रहेको उनको भनाइ छ। व्यवसायलाई सफलतापूर्वक अघि बढाउन सबैको साथ, सहयोग र हौसलाको अपेक्षा गरेको उनले बताइन् ।
बुटिक एण्ड टेलरिङ सेन्टरको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज राजभण्डारी, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य यमुना परियार र बुटिक प्रशिक्षक रविना चौधरीले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार श्रीनारायण चौधरीले गरेका थिए ।


