पच्चिस जिल्लामा यातायात सञ्चालन रोक

काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढीपहिरो र डुबानको जोखिम बढेपछि सडकदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ । नदी तथा खोलामा पानीको बहाब बढ्दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाडी क्षेत्रमा बाढीपहिरो र लेदोले सडक तथा यातायात अवरुद्ध बनाएको छ ।

जोखिम बढेपछि पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार र शनिबार सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको स्तर अनुसार यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जोखिमको स्तर अनुसार जिल्लालाई विभिन्न क्षेत्रमा वर्गीकरण गरी सवारी आवागमन व्यवस्थापन गर्न भनिएको छ । यातायात पूर्ण बन्द भएका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन् । त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जामा पनि दुई दिन सवारी आवागमन रोक्न भनिएको छ ।

त्यसै गरी अत्यधिक वर्षाको सम्भावना रहेका थप ३० जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन बन्द गर्न भनिएको छ । बाँकी २२ जिल्लामा पनि वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यसमा कोशी र मधेश प्रदेशका अधिकांश जिल्ला तथा बागमती प्रदेशका मकवानपुर र सिन्धुली परेका छन् ।

चार दिनसम्म वर्षा हुने पूर्वानुमानसँगै सम्भावित बाढीपहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले सुरक्षा तथा उद्धार संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ । विपत् आइपरेलगत्तै खोज तथा उद्धार, राहत र उपचारमा परिचालन गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब २६ हजार सुरक्षाकर्मी आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएका छन् ।

नेपाली सेनाले काठमाडौँ, सुर्खेत, धनगढी र रुपन्देहीमा हवाई उद्धार टोलीलाई आवश्यक हवाई साधनसहित तयारी अवस्थामा राखेको छ । सेनाका सबै पृतना तथा गणलाई उच्च सतर्क अवस्थामा राख्दै थप सात हजार ५२४ जनाको विपत् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । गोरखापत्रबाट

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस