सहारा बचत तथा ऋण सहकारीको अध्यक्षमा ज्ञवाली

तुलसीपुर । सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तुलसीपुरको अध्यक्षमा पदमकुमार ज्ञवाली चयन भएका छन्। संस्थाको शनिबार सम्पन्न सातौँ अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट संस्थाको उपाध्यक्षमा भीमलाल मरासिनी, सचिवमा सालिकराम ओली र कोषाध्यक्षमा विश्राम अधिकारी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा तेजबहादुर केसी, आशाकुमारी नेपाली, गीता विष्ट महतारा, सन्तोष आचार्य र देवकी पौडेल चयन भएका छन्।

अधिवेशनले लक्ष्मण पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ। लेखा समितिको सदस्यमा शान्ता शर्मा र किरण विक चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिले सहकारीको संस्थागत सुशासन, सदस्यको हित र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ। सहकारीका गतिविधिलाई थप व्यवस्थित गर्दै सदस्यको बचतको सुरक्षा, प्रभावकारी ऋण परिचालन तथा संस्थाको सेवा विस्तारमा नयाँ नेतृत्वले ध्यान दिने अपेक्षा गरिएको छ।

अधिवेशनमा संस्थाको विगतको प्रगति, आर्थिक अवस्था, सदस्यको सहभागिता तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। सहभागीहरूले सहकारीलाई सदस्यकेन्द्रित र पारदर्शी ढंगले सञ्चालन गर्दै स्थानीयस्तरमा वित्तीय पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित अध्यक्ष ज्ञवालीले संस्थाप्रति सदस्यहरूको विश्वास कायम राख्दै सहकारीको वित्तीय अवस्था सुदृढ बनाउन तथा सदस्यलाई प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संस्थाको विकासका लागि सञ्चालक समिति, कर्मचारी र सदस्यबीचको समन्वयलाई प्राथमिकता दिने बताए।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस