सुस्तामा बाढी पसेपछि ४०० जनालाई होल्डिङ सेन्टरमा स्थानान्तरण

पश्चिम नवलपरासी । नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता बस्ती डुबानमा परेपछि करिब ४०० जनालाई स्थानीय होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । लगातारको भारी वर्षासँगै नारायणी नदीको बहाव बढ्दै जाँदा बस्तीका अधिकांश घरमा पानी पसेपछि बाँकी नागरिकलाई समेत सुरक्षित स्थानमा ल्याउने तयारी गरिएको छ ।

नदीको बहाव बढ्दै जाँदा सुस्ताको थारु टोल, पहाडिया टोल, सैनिक टोल तथा बड्का टोल जलमग्न भएका छन् । बाढीबाट बस्तीका करिब १७० घर प्रत्यक्ष प्रभावित भएका छन् । नदीले बस्ती नजिकैबाट करिब ५० देखि ६० मिटर क्षेत्रमा तीव्र कटान गरिरहेकाले सिङ्गो बस्ती नै थप जोखिममा परेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र नेपालका अनुसार नारायणी नदी ओभरफ्लो भएर बस्तीमा पानी पसेपछि सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयासमा हालसम्म करिब ४०० जनालाई उद्धार गरी सुस्ताकै होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।

“नदीको बहाव अझै बढिरहेकाले पारि रहेको होल्डिङ सेन्टरमा मात्रै सबै नागरिक अट्ने र सुरक्षित हुने अवस्था छैन,” उनले भने, “सोही कारण उहाँहरूलाई झोलुङ्गे पुल वारी ल्याएर दिव्यज्योति तथा बीपी मेमोरियल स्कुललगायत सुरक्षित आश्रयस्थलमा स्थानान्तरण गर्ने काम अघि बढाइएको छ ।”

बाढीको जोखिम बढेसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएको छ । प्रभावित नागरिकलाई उद्धार गरी तत्कालका लागि सुस्तास्थित होल्डिङ सेन्टर, सामुदायिक भवन तथा अग्ला सुरक्षित स्थानमा राखिएको छ ।

स्थानीयवासी मुन्सी हरिजनका अनुसार सुस्तामा पाँचदेखि छ फिटसम्म पानी जमेको छ । घरभित्र पानी पसेपछि जनजीवन प्रभावित भएको छ । डुबानसँगै नारायणी नदीले तीव्र रूपमा कटान गरिरहेकाले खेतीयोग्य जमिनसँगै सिङ्गो बस्ती नै नदीमा खस्ने जोखिम बढेको उनले बताए ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस