सल्यानका सबै सडक रातिको समयमा बन्द

सल्यान । लगातारको वर्षा र हावाहुरीका कारण सडकमा पहिरो, ढुङ्गा खस्ने तथा रुख र विद्युत्का पोल ढल्ने जोखिम बढेपछि सल्यानका सबै सडक रातिको समयमा बन्द गरिने भएको छ । राप्ती राजमार्ग अन्तर्गत लुहाम–कपुरकोट–तुलसीपुर सडकखण्ड भने आइतबार दिनको समयमा समेत बन्द रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानले शनिबार सूचना जारी गर्दै जिल्ला अन्तर्गतका सम्पूर्ण सडक २०८३ असोज १० गतेदेखि १२ गतेसम्म हरेक दिन बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द रहने जनाएको हो ।

यस्तै, राप्ती राजमार्ग अन्तर्गत लुहाम–कपुरकोट–तुलसीपुर सडकखण्ड असोज ११ गते दिउँसो पनि सवारी आवागमन बन्द रहने प्रशासनले जनाएको छ ।

निरन्तर वर्षा र हावाहुरीका कारण जिल्लाका मुख्य तथा ग्रामीण सडकमा सडक भासिने, पहिरो खस्ने, ढुङ्गा खस्ने तथा रुख र विद्युत्का पोल ढल्ने जस्ता घटना भइरहेकाले थप जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द विष्टले जानकारी दिए ।

प्रशासनले जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन गर्दा मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले तोकिएको समयमा सडक प्रयोग नगर्न आग्रह गरेको छ ।

यसैबिच शुक्रवार रातिदेखी अवरुद्ध सल्यानको विद्युत सेवा शनिबार दिनभर मर्मतसम्भार गर्दा पनि सुचारु हुन सकेन । निरन्तरको वर्षा एवम् हुरी बताससँगै विभिन्न ठाउँमा रुख ढल्दा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभरको विद्युत सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले शनिबार दिनभर मर्मत टोलीले क्षतिग्रस्त प्रसारण लाइनको अवस्था पहिचान गरी मर्मत कार्य गरेको भएपनि धेरै ठाउँमा क्षति पुगेकाले लाइन सुचारु गर्न नसकिएको जनाएको हो । टोली निरन्तर मर्मत कार्यमा खटिरहेको सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस