दाङ उद्योग वाणिज्य संघको निर्वाचन रोक्न अन्तरिम आदेश

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ। निर्वाचन रोक्न माग गर्दै खिमबहादुर डिसीले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए।

डिसीले बिहीबार रिट दायर गर्दै असोज ११ गते हुने भनिएको निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेशको माग गरेका हुन्। रिटमाथि शुक्रबार उच्च अदालत तुलसीपुरका न्यायाधीश यज्ञबहादुर रानाको इजलासमा सुनुवाइ भएको थियो।

सुनुवाइपछि अदालतले असोज ११ गतेका लागि तय गरिएको निर्वाचन रोक्न आदेश दिएको निर्वाचन समितिका संयोजक मणिराज आचार्यले जानकारी दिए। उनका अनुसार अदालतले यही विषयमा असोज १४ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।

अदालतको आदेशसँगै दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ। अब असोज १४ गते हुने छलफलपछि निर्वाचन प्रक्रिया अघि बढ्ने वा नबढ्ने विषय टुंगो लाग्नेछ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस