विश्वकप खेल्ने इरानी खेलाडीको बिदाइ भएपनि अझै पाएका छैनन भिसा

इरानको राष्ट्रिय फुटबल टोलीलाई आगामी सन् २०२६ को फिफा पुरुष विश्वकपका लागि इरान सरकारले औपचारिक रूपमा बिदाइ गरेको छ। संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपअघि बुधबार तेहरानमा विशेष समारोह आयोजना गरिएको हो।

इरानको सरकारी टेलिभिजनमा प्रसारित दृश्यअनुसार खेलाडीहरू रातो र कालो ट्र्याकसूटमा तेहरानको इन्घेलाब स्क्वायरमा उपस्थित भएका थिए। कार्यक्रममा समर्थकहरूले राष्ट्रिय झण्डा फहराउँदै टोलीलाई शुभकामना दिएका थिए। केही सहभागीले दिवंगत सर्वोच्च नेता अली खामेनीका तस्बिरसमेत बोकेका थिए।

समारोहमा राष्ट्रिय टोलीका प्रशिक्षक अमिर घालेनोई र इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताज पनि सहभागी थिए। अध्यक्ष ताजले विश्वकपमा इरानी टोलीले देश, जनता र राष्ट्रिय गौरवको प्रतिनिधित्व गर्ने बताएका थिए।

यद्यपि टोलीको तयारीबीच खेलाडीहरूको अमेरिकी भिसा प्रक्रिया अझै पूरा भएको छैन। इरान फुटबल महासंघका महासचिव हेदायत मोम्बेनीले फिफाले भिसा प्रक्रियामा सहजीकरण गर्ने आश्वासन दिएको जानकारी दिँदै खेलाडीहरूले समयमै भिसा पाउने अपेक्षा व्यक्त गरेका छन्।

इरानको टोलीले अर्को सातादेखि टर्कीमा प्रशिक्षण सुरु गर्ने कार्यक्रम रहेको छ। विश्वकपमा इरान समूह ‘जी’ मा परेको छ, जहाँ उसले न्युजिल्याण्ड, बेल्जियम र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्ने तालिका छ।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस