सन्दीप बने एकदिवसीय टोलीको कप्तान

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको एकदिवसीय कप्तान सन्दीप लामिछाने बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीय टोलीको कप्तान बनाउने निर्णय गरेको हो ।

सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो । त्यसपछि रोहित पौडेलले नेपाली टोलीको नेतृत्व गर्दै आएका थिए ।

सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् । उनले पछिल्लोपटक २०२२ अगस्ट ३० मा केन्या भ्रमणका क्रममा नेपालका लागि कप्तानी गरेका थिए । त्यसपछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजतर्फ लागेका थिए ।

यता, ट्वान्टी–२० अन्तर्राष्ट्रियतर्फ भने दीपेन्द्रसिंह ऐरीले नै नेपाली टोलीको कप्तानी गर्नेछन् । फेब्रुअरीमा भारतमा सम्पन्न ट्वान्टी–२० विश्वकपपछि रोहितको स्थानमा दीपेन्द्रलाई ट्वान्टी–२० कप्तानको जिम्मेवारी दिइएको थियो ।

सन्दीपले यसअघि सन् २०२२ मै पहिलोपटक नेपाली टोलीको कप्तानी गरेका थिए । उनको कप्तानीमा नेपालले १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा चार खेलमा मात्रै जित हात पारेको थियो । नौ खेलमा पराजित हुँदा एक खेल बराबरीमा सकिएको थियो ।

रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सफल कप्तानमध्ये एक हुन् । उनको नेतृत्वमा नेपालले ६३ खेल खेल्दा ३१ मा जित, ३० मा हार तथा दुई खेल रद्द भएका थिए ।

रोहितकै कप्तानीमा नेपालले सन् २०२३ मा विश्वकप लिग–२ को अन्तिम १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस