काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनर्स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रको लगानी र व्यावसायिक सक्रियता अभिवृद्धि गर्न राज्य र राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको बताए ।
रोजगारी सिर्जना, राजस्व वृद्धि र मुलुकको समग्र पूर्वाधार विकासमा निजी क्षेत्रको अहम भूमिका रहने उल्लेख गर्दै नेतृत्वबाट प्राप्त सकारात्मक सन्देशले उद्योगी व्यवसायीमा नयाँ उत्साह सञ्चार गर्ने उनले बताए ।
परम्परागत शैलीमा चलिरहेका कतिपय पद्धतिलाई सुधार गर्ने क्रममा केही अन्योल देखिए पनि निजी क्षेत्रलाई पूर्ण सहयोग गर्ने र आफ्ना वाचापत्रअनुसार नै अगाडि बढ्ने राजनीतिक नेतृत्वको प्रतिबद्धता सराहनीय रहेको उनको भनाइ छ ।
‘पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास केही कमजोर भएको अवस्थामा राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट धारणाले सकारात्मक सन्देश दिएको छ,’ ढकालले भने, ‘यसले आगामी दिनमा थप लगानी भित्र्याउन, व्यावसायिक क्रियाकलाप विस्तार गर्न र समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न सहयोग पुग्नेछ ।’
पार्टी नेतृत्वको स्पष्ट मार्गदर्शन र सहयोगको आश्वासनले निजी क्षेत्रको मनोबल बढ्ने र यसले देशको आर्थिक विकासमा ठोस योगदान पुर्याउने विश्वास समेत अध्यक्ष ढकालले व्यक्त गरे । निजी क्षेत्र र राज्यबीचको सहकार्यले मात्र आर्थिक समृद्धि सम्भव हुनेमा उनले जोड दिए ।


