राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले गठबन्धन गर्छ, दलहरूसँग कुराकानी भइरहेको छ: कृष्ण सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनमा पार्टीले अन्य दलहरूसँग तालमेल गर्ने बताएका छन्।

यसबारे सभापति शेरबहादुर देउवाको निवासमा आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी गराएको र आज केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल गरेर निर्णयमा पुगिने उनले बताए।

काठमाडौंको जमलस्थित एक होटलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै सिटौलाले पार्टीले राष्ट्रिय सभामा गठबन्धन गरी जाने बताएका हुन्। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ।

‘कुन–कुन दलसँग तालमेल गरी जाने भन्ने विषयमा कार्यवाहक सभापतिजी र रमेश लेखकजीले कुराकानी गरिरहनुभएको छ,’ उनले भने, ‘तालमेल गरेपछि कहाँ कहाँ कांग्रेसले उम्मेदवारी दिने पनि तय हुन्छ। आज केन्द्रीय कार्यसम्पादन बैठकमा पनि यसबारे छलफल होला।’

कांग्रेसले एक्लै जित्ने अवस्था नदेखिएकोले तालमेल गर्न लागिएको उनको भनाइ छ।

प्रकाशित मिति : २०८२ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस