ताइवानदेखि अरुणाचलसम्म जोडेर ‘ग्रेटर चीन’ बनाउने योजनामा छ बेइजिङ

काठमाडौं । चीनले परिकल्पना गरेको सन् २०४९ सम्ममा चिनियाँ राष्ट्रबारे अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले ठूलो खुलासा गरेको छ ।

अमेरिकी कांग्रेसलाई बुझाइएको नयाँ रिपोर्टमा चीनले अब भारतको अरुणाचल प्रदेशलाई पनि आफ्नो पक्षमा समावेश गर्ने दाबी गरिएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले २०४९ सम्ममा एक ‘ग्रेटर चाइना’ बनाउने सपना देखिरहेका छन् । अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको नयाँ रिपोर्टमा यो योजनाअन्तर्गत चीनले अब भारतको अरुणाचल प्रदेशलाई पनि आफ्नो महत्त्वपूर्ण हिस्सा मानेको दाबी गरिएको छ ।

बेइजिङले यी क्षेत्रहरूमा आफ्नो दाबीलाई अन्तिम ठान्छ र वार्ताको कुनै सम्भावना नरहेको मान्छ । पेन्टागनको रिपोर्टले चीनले आफ्नो ‘कोर इन्ट्रेस्ट’हरूको सूची धेरै लामो बनाइसकेको बताएको छ । यसमा ताइवान, दक्षिण चीन सागर, जापानको सेनकाकु द्विप र अब भारतको अरुणाचल प्रदेश पनि समावेश छन् ।

२०४९ सम्ममा ग्रेटर चीन बनाउने लक्ष्य

अमेरिकी रिपोर्टमा यी सबै क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा ल्याउन नसक्दा सन् २०४९ सम्ममा शक्तिशाली र ग्रेटर चाइना बन्न नसक्ने दाबी गरिएको छ ।

यही सोचका कारण चीनले यी क्षेत्रहरूमा अत्यन्त कडा दष्टिकोण अपनाएको र पछि हट्न तयार नरहेको जनाइएको छ । पेन्टागनका अनुसार यही कारण चीन बारम्बार भारत र अन्य छिमेकी देशहरूसँग सीमा तथा क्षेत्रीय विवादमा फस्ने गरेको छ ।

अरुणाञ्चल प्रदेशमाथिको चीनको पछिल्लो दाबीलाई पनि यो ठूलो योजनाको हिस्सा मानिएको छ ।

चीनका तीन ‘कोर इन्ट्रेस्ट’

रिपोर्टका अनुसार चीनले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को नियन्त्रण, आर्थिक विकास र स्थिरता तथा क्षेत्रीय दाबीहरूको रक्षा र विस्तार समेटेर तीन यस्ता ‘कोर इन्ट्रेस्ट’हरू निर्धारण गरेको छ जसमा कुनै सम्झौता गर्दैन । यी कुनै चुनौतीलाई चीनले आफ्नो सत्ता र वैधतामाथिको प्रत्यक्ष खतरा ठान्छ ।

पेन्टागनको रिपोर्टले सीसीपीले हङकङ, शिन्जियाङ, तिब्बत र ताइवानमा विरोधी आवाजहरूलाई पृथकतावादी ठहराएको र विदेशी शक्तिबाट प्रेरित भनेर चित्रण गरेको उल्लेख छ । चीनका अनुसार यी आवाजहरू उसको सत्ताका लागि अस्वीकार्य खतरा हुन् ।

भारत–चीन सीमामा नरम, तर विश्वास छैन

रिपोर्टमा अक्टोबर २०२४ मा भारत र चीनबीच नियन्त्रणमा बाँकी रहेका टकराव क्षेत्रहरूबाट पछि हट्ने सहमति बनेको उल्लेख छ । त्यसपछि ब्रिक्स शिखर बैठकमा राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको थियो ।

यसपछि दुवै देशबीच मासिक उच्चस्तरीय वार्ता, प्रत्यक्ष उडान, भिसा सुविधा र शैक्षिक तथा मिडिया आदानप्रदानबारे छलफल सुरु भएको छ ।

पेन्टागनको भनाइमा चीन सीमामा तनाव घटाएर भारत–अमेरिका सम्बन्ध सुमधुर हुनबाट रोक्न चाहन्छ । तर, भारतले चीनको उद्देश्यप्रति अझै सतर्कता अपनाएको छ । रिपोर्टले पारस्परिक अविश्वास र पुराना विवादका कारण भारत–चीन सम्बन्धमा सीमित सुधार मात्र सम्भव रहेको स्पष्ट पार्छ ।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस