काठमाडौं । मलेसियाले विदेशी श्रमिकसहित कामदारको न्यूनतम मासिक तलब २ हजार रिंगेट पुर्याउने घोषणा गरेको छ । सन् २०२७ जुनदेखि २ हजार रिंगिट पुर्याउने घोषणा गरेको हो ।
हाल १ हजार ७ सय रिंगेट रहेको न्यूनतम तलबमा ३ सय रिंगेटले बढाएर २ हजार पुर्याउने घोषणा गरेको हो । जसले गर्दा मलेसियामा कार्यरत ४ लाख नेपाली श्रमिक समेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आज (शुक्रबार) सन् २०२७ को बजेट संसद्मा प्रस्तुत गर्दै न्यूनतम तलब वृद्धि गर्ने घोषणा गरेका हुन् । बढ्दो महँगीका कारण श्रमिकको आम्दानी र जीवनयापन खर्चबीचको अन्तर बढ्दै गएको भन्दै सरकारले तलब वृद्धि गर्ने निर्णय गरेको उनले बताए ।
मलेसियामा नेपालीसहित विदेशी कामदारले पनि कानुनले तोकेको न्यूनतम आधारभूत तलब पाउने व्यवस्था छ । त्यसैले नयाँ दर कार्यान्वयनमा आएपछि न्यूनतम तलबमा काम गरिरहेका नेपाली श्रमिकको मासिक आम्दानी बढ्ने अपेक्षा गरिएको छ । तर, साना तथा मझौला व्यवसायलाई दिइएको छुटका कारण सबै श्रमिकले एकैपटक बढेको तलब भने पाउने छैनन् ।
मलेसियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् । त्यहाँको न्यूनतम तलब वृद्धिले नेपाली श्रमिकको आम्दानीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएपनि त्यसको वास्तविक लाभ कामको प्रकृति, रोजगारदाता र नयाँ व्यवस्थाको कार्यान्वयनमा निर्भर हुनेछ ।


