इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं‌ । इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ। भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएसँगै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको थियो। भूकम्पको गहिराइ १५ किलोमिटर थियो भने यसको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा रहेको थियो। राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो।

भूकम्प फ्लोरेस क्षेत्र आसपास गएको हो। यो क्षेत्र इन्डोनेसियाको चर्चित पर्यटकीय टापु बालीभन्दा पूर्वतर्फ पर्छ। भूकम्पपछि नागेकेओलगायत आसपासका क्षेत्रका सयौं मानिस सुरक्षित स्थानतर्फ भागेका थिए। केही स्थानमा भवनहरूमा क्षति पुगेको र परकम्पसमेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो विवरणअनुसार भूकम्पमा कम्तीमा दुई जनाको मृत्यु र केही मानिस घाइते भएका छन्। भवन तथा घरहरूमा समेत क्षति पुगेको बताइएको छ। प्रारम्भमा जारी गरिएको सुनामी चेतावनी भने समुद्रको सतहमा ठूलो परिवर्तन नदेखिएपछि पछि हटाइएको छ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस