काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापनइतर समूहका नेता शेखर कोइरालाबीच मंगलबार देउवानिवासमा महाधिवेशनको तयारीबारे छलफल भएको छ । कोइरालाको सचिवालयका अनुसार नेता मीननेन्द्र रिजाललाई साथमा लिएर कोइराला देउवानिवास महाराजगञ्ज पुगेका हुन् ।
भेटमा केन्द्रीय अनुशासन समितिले कारबाही गरेका नेता तथा कार्यकर्ताहरूको कारबाही फुकुवा गर्न कोइरालाले देउवासमक्ष माग गरेका छन् । २०७९ को आमचुनावका बेला पार्टीका उम्मेदवारलाई नसघाएको आरोपमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललगायतका नेताहरूमाथि पार्टीले अनुशासनको कारबाही गरेको छ । कारबाहीमा परेका नेताहरू अहिले महाधिवेशनमा सहभागी हुन नसक्ने अवस्था छ । त्यसैले कोइरालाले उनीहरूको कारबाही फिर्ता हुनुपर्ने माग सभापतिसमक्ष राखेका हुन् ।
कोइरालाले यसअघि केन्द्रीय कार्यसमिति बैठकमा पनि अनुशासनको कारबाही फिर्ता हुनुपर्ने माग गरेका थिए ।
भेटमा क्रियाशील सदस्यता फारममा क्रमसंख्या नभएको विषय पनि कोइरालाले देउवासमक्ष उठाएको कोइरालाको सचिवालयले जनाएको छ । सचिवालयले भनेको छ, ‘क्रियाशील बितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासामु कुरा उठाउनुभएको छ ।’
कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरेका छन् । कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने बताएका छन् ।


