ओलीको पदाधिकारी सूचीमा अटिनन् रामकुमारी झाँक्री, सदस्यमा सीमित

नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले प्यानल नै खडा गरेर प्रतिस्पर्धामा उत्रिएका छन् । दुई टोलीले प्रतिस्पर्धाका लागि प्यानल खडा गरिरहँदा पदाधिकारीको दाबेदारीमा नयाँ अनुहारसमेत देखिएका छन् ।

तर, नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)ले तत्कालीन नेकपा माओवादी केन्द्रसँग एकता गर्ने क्रममा असन्तुष्टि जनाउँदै एमाले फर्किएकी रामकुमारी झाँक्री भने केन्द्रीय सदस्यको प्रतिस्पर्धामा सीमित भएकी छन् ।

एमाले फर्किएपछि अध्यक्ष ओलीको साथमा पदाधिकारीमा आउन सक्ने चर्चा गरिए पनि नयाँ नेतृत्वका लागि ओली पक्षले तयार गरेको उम्मेदवारहरूको सूचीमा झाँक्रीको नाम केन्द्रीय सदस्यमा रहेको छ ।

झाँक्रीले बन्दसत्रको दोस्रो दिन अध्यक्ष र महासचिवबाहेक जुनसुकै पदमा पनि उम्मेदवारी दिनसक्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘अध्यक्ष र महासचिवमा मेरो उम्मेदवारी हुँदैन । अन्य पदाधिकारीमा जुनसुकै पदमा पनि उम्मेदवारी दिनसक्छु । जिम्मेवारी पूरा गर्नसक्छु ।’

झाँक्रीले भदौ २०७८ मा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी बनाउन मुख्य भूमिका खेलेकी थिइन् । ९ भदौ २०७८ मा निर्वाचन आयोगमा नेपालको हात समातेर डोहोर्‍याएको तस्वीर भाइरल नै बनेको थियो । त्यो समयमा नेपाल समूहमा रहेका १० जना पदाधिकारीले धोका दिएको तर झाँक्रीले नेपाललाई साथ दिएको भन्दै चर्चा गरिएको थियो ।

झाँक्री नेकपा एसमा सचिव बनेकी थिइन् । पछि महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी उनी जयन्ती राईसँग पराजित भएकी थिइन् । उपाध्यक्षमा पराजित भएपछि एसमा पनि उनी विद्रोहीजस्तै बनेकी थिइन् । अन्ततस् नेकपा एस र माओवादी केन्द्रलगायत पार्टी मिलेर नेपाली कम्युनिस्ट पार्टी बन्ने भएपछि उनी गत २४ कात्तिकमा चार वर्षपछि एमालेमा फर्किएकी हुन् ।

उनी एमालेमा ओलीको साथ पाएर सचिव बन्न सक्ने चर्चा चलेको थियो । तर, उनी कन्द्रीय सदस्यको प्रतिस्पर्धामा मात्रै सीमित हुन पुगेकी छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस