काठमाडौंमा भित्रियो ११ सय टन तरूल, कुनको मूल्य कति ?

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरूलको कारोबार बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा पुसमा ११ सय ३४ टन तरूल भित्रिएको छ। यो परिमाण गत वर्षको तुलनामा दुई सय टन कम हो।

गत वर्ष पुसमा १३ सय ४६ टन तरूल भित्रिएको थियो।

पछिल्लो समय काठमाडौंमा स्थानीय बजारको संख्या बढ्दै गएकाले उक्त बजारमा पनि तरूल बिक्री हुने गरेको छ। सोही कारण कालीमाटी बजारमा परिमाण कम देखिएको हो।

‘स्थानीय बजार धेरै खुलिसके। पहिलेजस्तो कालीमाटीकै भर पर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘त्यही भएर अहिले यहाँ परिमाण थोरै आएको देखिएको हो।’

बजारमा घर तरूल, बन तरूल, हात्तीपाइले तरूल, आकाशे तरूल, सिमल तरूल गरी विभिन्न प्रकारका तरूल पाइन्छ।

काठमाडौंमा भित्रिने अधिकांश तरूल सर्लाहीबाट आउने गरेको छ। यो बाहेक सुनसरी, चितवन, धादिङ, नुवाकोट, मकवानपुर लगायतका छिमेकी जिल्लाबाट भित्रिने गरेको छ।

माघेसंक्रान्तिमा स्थानीय उत्पादनले नै तरूलको माग धान्ने भएता पनि भारतबाट पनि थोरै मात्रामा भित्रिने गरेको उनी बताउँछन्।

‘यहीँको उत्पादनले पुग्छ। तर व्यापारीहरूले नगन्य मात्रामा ल्याएका हुन्छन्,’ उनले भने।

गत वर्षको तुलनामा अहिले तरूलको मूल्य थोरै बढेको उनको भनाइ छ।

उनका अनुसार गत वर्ष तरूल प्रतिकिलो थोक मूल्य ६६ रूपैयाँ थियो भने यो वर्ष ७८ रूपैयाँ छ।

हाल उपभोक्ताले घर तरूल एक सय ५० देखि दुई सय ५०, बन तरूल तीन सय, हात्तीपाइले तरूल एक सय २० देखि एक सय ५०, सिमल तरूल ८० देखि एक सय २० र स्कुसको जरा दुई सयदेखि दुई सय ५० रूपैयाँ किलो छ।

किन खाने तरूल?
माघे संक्रान्ति विशेषगरी तरूल र चाकुको चाड हो। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ। यस दिन घ्यू, चाकु, तिलको लड्डु (तिलौरी), खिचडी, तरूल आदि खाने चलन छ।

यीमध्ये तरूललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाइन्छ। नेपाली उखानै छ, ‘पुसमा पाके, माघमा खाके’ अर्थात् पुसमा पकाएर माघमा खाने।

लेखक तथा इतिहास अध्येता हरिप्रसाद सोडारीका अनुसार खेतीपाती नहुने समयमा ऋषिहरू तरूल, गिठ्ठा, भ्याकुर लगायत कन्दमुल खान्थे।

‘जंगलमा पकाउने भाँडाकुँडा पाइँदैन थियो। त्यसैले त्यो बेला पोलेर खान्थे। मानवबस्ती बढ्न थालेपछि उसिनेर खाने चलन आएको हो,’ इतिहास अध्येता सोडारीले भने, ‘पहाडी भेगमा अझै पनि पोलेर खाने चलन छ। पोलेर खाँदा शरीरमा भएको गर्मी हट्ने मान्यता छ।’

मंसिरदेखि माघसम्म कन्दमुल खन्ने उपयुक्त समय मानिन्छ। माघपछि विस्तारै अन्य खेतीपातीको समय सुरू हुन्छ। सामान्यतः पानी पर्ने समयमा कन्दमुल खनिँदैन।

नयाँ बाली भित्र्याउने समयमा केही न केही विशेष खाने भएकाले माघे संक्रान्तिमा तरूल खाने चलन आएको सोडारी बताउँछन्।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस