लन्डन । बेलायतको शाही परिवारकी बुहारी तथा वेल्सकी राजकुमारी केट मिडलटन कहाँ छिन् भन्ने रहस्य झन्झन् गहिरिँदै गएको छ । कयौँ महिनायता केट सार्वजनिक रुपमा देखिएकी छैनन् । महलका केही वरिष्ठ कर्मचारीहरूले पनि उनलाई नदेखेको अनि कुरा पनि नभएको दाबी गरिरहेका छन् । राजकुमार विलियम र राजकुमारी केट मिडलटन केन्सिङ्टन प्यालेसमा बस्छन् । पेटको शल्यक्रियापछि केट केन्सिङ्टन प्यालेसमा नै आराम गरिरहेको शाही परिवारको भनाई छ । तर दरबारका कर्मचारीहरूले भने धेरै दिनदेखि केटलाई नदेखेको बताएका छन् ।
यति बेला सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा केट कहाँ छिन् कस्तो अवस्थामा छिन् भन्नेबारे निकै चर्चा चलिरहेको छ । केहीले केट कोमामा रहेको बताइरहेका छन् । यस अघि नै केटबारे अनेक अफवाह चलेका थिए । मदर्स डेको बेलामा केन्सिङ्टन प्यालेसले केट र उनका छोराछोरीहरूको एउटा तस्बिर जारी गरेको थियो ।
तस्बिरको साथमा मदर्स डेको शुभकामना दिइएको थियो । तस्बिरमा छेडछाड गरिएको भन्दै केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले तस्बिर हटाए । यसपछि केट मिडलटनको स्वास्थ्यलाई लिएर अफवाह झनै चुलिएको छ ।
गएको वर्षदेखि सार्वजनिक रूपमा देखिएका छैनन् केट
केट मिडलटन गत क्रिसमसदेखि सार्वजनिक रूपमा देखिएकी छैनन् । शाही परिवारले जारी गरेको विज्ञप्तिका अनुसार पेटको शल्यक्रियापछि केट मिडलटन अहिले आराम गरिरहेकी छिन् । अस्पतालबाट डिस्चार्ज गरी जनवरी २९ मा उनी विन्डसर प्यालेस आइपुगेको बताइएको छ । तर उनको स्वास्थ्य अवस्थाबारे दरबारले खासै धेरै जानकारी सार्वजनिक गरेको छैन ।


