
काठमाडौं । हिमालय रोडिज सिजन–५ आगामी साउन ८ गतेदेखि प्रसारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो साहसिक रियालिटी शोका प्रायोजकसँग सम्झौता गरिएको छ । साथै शोमा अनुबन्धित ग्याङ लिडर र होस्ट पनि सार्वजनिक गरियो । ‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजलाई सुरजसिंह ठकुरीले होस्ट गर्दैछन् । प्रियंका कार्की ग्याङ लिडरको रुपमा जोडिएकी छन् । र्यापर आशिष राना लाउरे, अभिनेता अनुपविक्रम शाही र अभिनेत्री दीया मास्के ग्याङ लिडरको रुपमा छन् ।
समारोहमा हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुसाल र मुख्य प्रायोजक यामाहा नेपालका व्यवस्थापन निर्देशक विष्णु अग्रवालसहित अन्य प्रायोजकसँग सम्झौतापत्रमा हस्ताक्षर भयो । हिमालय टिभीका अध्यक्ष भुसालले पाँचौं सिजन पनि दर्शकमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे । यामाहा नेपालका प्रवन्ध निर्देशक अग्रवालले मुख्य प्रायोजकको रुपमा हिमालय रोडिजसँग जोडिन पाउँदा खुसी लागेको बताए । चौथो सिजनलाई १.९ मिलियनले दर्शकले हेरेको तथ्य उनले प्रस्तुत गरे । यामाहाको ब्राण्ड भ्यालु नै स्पोर्टी भएकाले रोडिजसँग जोडिएको उनले बताए । पाँचौं सिजनसँग पनि युवा दर्शक जोडिने आशा आफूले राखेको उनले बताए ।
कार्यक्रम होस्ट सुरजले अडिसनका क्रममा ७० वर्षका वृद्धदेखि अन्य रोचक पात्रहरुले अडिसन दिएको बताए । ‘कोही ७० वर्ष पुगेको वृद्ध, कोही मुटुमा प्वाल परेको युवा र कोही डाक्टरले २२ वर्षभन्दा बढी बाँच्दैनस् भन्ने युवा अडिसन दिन आएका थिए । यसले रोडिजप्रतिको क्रेज पुष्टि हुन्छ,’ उनले भने ।
डिजिटल अडिसनमा ४ हजार ४०० र फिजिकल अडिसनतर्फ १ हजार ११६ जना सहभागी भएका थिए । एमटीभी इन्डियाको फर्म्याटमा आधारित भएर हिमालय रोडिजले २०७५ सालदेखि नेपालमा प्रसारण थालेको हो ।