
बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले पछिल्लो समय बिरामीको मन जित्दै गएको छ । अहिले अस्पतालमा उपचार गर्न आउने बिरामीहरुले अस्पतालले आमाको जस्तै माया दिएर सेवा दिने गरेको भन्दै खुशी भएका छन् । तुलसीपुर उपमहानगरपालिका ६ का नेत्रलाल वलीले अस्पतालमा आएर उपचार गर्दा आमाको जस्तो माया पाएको बताए । उनी मुखमा एलर्जी भएपछि करिब एक हप्तादेखि अस्पतालमा गएर उपचार गर्दै आएका छन् ।
उनले भने, ‘मैले विगत १० वर्षदेखि एलर्जीको लागि एलोप्याथिक औषधि खाँदै आए तर, निको भएको थिएन । मलाई एक जनाले यस अस्पतालमा जान सल्लाह दिनु भए । अहिले एक हप्ता भयो आएर उपचार गर्न लागेको धेरै ठिक भयो । यहाँको सेवा सुविधाको बारेमा मैले अहिले थाहा पाउँदा मलाई धेरै गौरव लागेको छ । तुलसीपुरमा पनि यस्तो अस्पताल रहेछ, भन्ने कुरा मैले अहिले थाहाँ पाए ।’
अझै पनि धेरै मानिसहरु केही समस्या भएमा उपचारको लागि बाहिर जाने गरेको भन्दै यति राम्रो र व्यवस्थित अस्पताल हुँदा पनि हेर्ने दृष्टिकोण परिवर्तन गुर्न पर्ने बताए । उनले यही आफ्नो ठाउँमा एकदम सस्तोमा राम्रो उपचार हुन ठाउँ भएयता पनि हामीले यसलाई विश्वास नगर्दा बाहिर गएर धेरै पैसा खर्च गुर्न पर्ने अवस्था रहेको भन्दै यस अस्पतालमा आएर सेवा लिन पनि आग्रह गरे ।
उनलाई अस्पतालका डाक्टर तथा नर्सहरुको व्यवहारका कारण पनि आधा बिरामी त्यतिकै निको हुने जस्तो आफूलाई महशुस भएको छ । यस्तै उनले नागरिकहरुलाई आयुर्वेदको बारेमा जानकारी गराउनु पर्ने पनि बताए । उनले भने, ‘अहिले आम नागरिकमा आयुर्वेद भन्दा एलोप्याथिकलाई विश्वास मान्न चलन रहेको छ । तर, एलोप्याथिकले रोगलाई न्युनीकरण गर्ने हो ? आयुर्वेदले निर्मूल गर्ने हो । भन्ने कुरा बुझाउन जरुरी रहेको छ । यस अस्पतालको विकासका लागि सबैले ध्यान दिन जरुरी छ ।
प्यूठानका नारायण प्रसाद गोराथोकी विगत १७ दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गर्दै आएका छन् । पायल्सको अप्रेसन गरेका उनले अस्पतालमा एकदमै राम्रो सेवा पाएको बताए । उनले पहिला बाहिर उपचार गरेको भएयता पनि यस अस्पतालमा राम्रो उपचार हुने थाहा पाएपछि आएको भन्दै एकदमै सस्तोमा र राम्रो सेवा सुविधासहित उपचार गरिरहेको बताए ।
उनले अस्पतालमा बेडहरुको कमीका कारणले सबै बिरामीहरु एउटै ठाउँमा राख्दा समस्या हुने गरेको भन्दै अस्पताललाई स्तोरउन्नती गर्नु पर्ने समेत बताए । उनले भने, ‘एक दिनको २४ रुपैयाँ बेडको चार्ज रहेको छ । त्यसमा पनि दुई टाइम खाना र दुई टाइम नास्ता पाइन्छ । सरसफाई पनि राम्रो छ । तर, बिरामीहरुको संख्या धेरै हुने भएकाले सबैलाई एउटै ठाउँमा राख्दा समस्या हुन्छ । त्यसैले अस्पतालले बिरामी अनुसार छुट्टा छुट्टै ठाउँमा बिरामीहरु राख्ने व्यवस्था गरेपछि राम्रो हुन्थ्यो । फेरि अस्पतालमा अरु बेड थप्ने ठाउँमा रहेन छ । त्यसैले राज्यले यसतर्फ ध्यान दिन जरुरी छ ।’
ज्येष्ठले निःशुल्क सेवा पाउँदा खुशी
ज्येष्ठ नागरिक लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी विगत ४ वर्षदेखि कुनै समस्या देखिएमा उपचारको लागि अस्पतालमा आउने गरेको बताए । उनले अस्पतालले ज्येष्ठ नागरिकहरुलाई सबै सेवा निःशुल्क प्रदान गर्ने र राम्रो सेवा दिइने भएकाले आफू कुनै समस्या भएमा आउने गरेको बताए । उनले भने, ‘तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा जादा घन्टौ लाइनमा बस्नु पर्छ । तर, त्यहाँ डाक्टरहरु बढिमा २ बजेसम्म मात्र भेटिन्छन् । तर, यहाँ जतिबेला आए पनि डाक्टरहरु हुन्छन् । यहाँ औषधि पनि बिरामीहरुको अवस्था अनुसार दिइन्छ । त्यसैले गर्दा यस अस्पतालले मेरो मन जितेको छ । अब यसलाई माथि उठाउन हामी सबैले सहयोग गर्नु पर्छ ।’
यस्तै तुलसीपुर ८ दुधेना धनेश्वर पोखरेलले पञ्चकर्म तथा थेरापी गर्न लागेको ५ दिन भयो । उनले अस्पतालमा आएर यो सेवा लिएपछि केही सुधार हुँदै गएको बताए । उनले आयुर्वेदिक उपचारमा निको हुन समय लाग्ने भएयता पनि निर्मूल हुने पनि बताए । उनले पहिला ढाड दुख्ने समस्याको लागि विभिन्न ठाउँमा उपचार गरेको भएयता पनि त्यहाँ ठिक नभएपछि यहाँ आएको भन्दै अहिले पहिलेको तुलनामा केही सुधार हुँदै गएको भन्दै अस्पतालबाट राम्रो सेवा सुविधा पाएको समेत बताए ।
पछिल्लो समय विशेषज्ञ सेवा दिन थालेपछि बिरामीहरुको चाप बढ्दै गएको छ । दैनिक सयौँको संख्यामा बिरामीहरु सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ । बिरामीहरु चाप बढ्दै गएपनि ३० बेडसम्मको अस्पताल हुँदा बिरामीहरुलाई सेवा दिन समस्या हुने गरेको अस्पतालका निमित्त निर्देशक डाक्टर सन्तोष कुमार ठाकुरले बताए ।
उनका अनुसार अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गरेपछि ओपिडीमा दिनदिनै बिरामीहरुको संख्या बढ्दै गएको छ । उनले भने, ‘इन्डोरमा हाम्रो ३० बेडको क्षमता छ । अहिले २८÷२९ जना बिरामीहरु भर्ना भएका छन् । अब बिरामीहरु थपिएमा राख्ने ठाउँ छैन् । सेवाको गुणस्तरियतालाई बढाउँदै गएपछि बिरामीहरु सेवा लिन आउने क्रम पनि बढ्दै गएको छ ।’ यस्तै उनले आफू आएको करिब एक वर्ष भएको भन्दै यहाँ भएको भौतिक पूर्वाधारबाट नै सक्दो सेवा दिइरहेको पनि उल्लेख गरे ।
उनका अनुसार अस्पताललाई ५० सैया सम्म स्तरोउन्ती गर्ने प्रदेश सरकारको निति र कार्यक्रममा आएको भएयता पनि अहिलेसम्म मन्त्रिपरिषद्बाट निर्णय भएको छैन् । उनले भने, ‘प्रदेश सरकारबाट त्यो स्वीकृत भएपछि अस्पतालमा बाहिरंग र अन्तरंगको भवन निर्माण हुने थियो । अस्पतालमा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र कर्णाली प्रदेशका केही जिल्लाहरुबाट बिरामीहरु उपचार गर्न आउने गर्छन् ।
अस्पतालमा अहिले विशेषज्ञ स्तरमा पञ्चकर्म, शल्य, शालाक्य, बालरोगका सेवाहरु प्रदान गर्दै आएको र अबको केही समयमा स्त्री रोगमा आयुर्वेदको पद्धतिमा सेवा प्रदान तयारी रहेको निर्देशक डा. ठाकुरले बताए । यस्तै जन्मेदेखि ५ बर्षसम्मका बच्चाहरुको लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम संचालन भइरहेको पनि उनको भनाइ छ । विगत ६ महिनादेखि अस्पतालमा यो कार्यक्रम लागू भएको र यसमा बच्चाहरुको उल्लेखनीय सहभागिता हुने गरेको भन्दै स्वर्णबिन्दु प्रासन प्रयोग गरेका बालबालिकाहरुलाई यसले फाइदा गरेको पनि उनले बताए ।
उनले भने, ‘हामीले आयुर्वेदमा उल्लेख भएका एउटा औषधिबाट गर्ने उपचार र अर्काे विना औषधि गरिन उपचार सेवाले नागरिकहरुलाई निको पार्ने काम गरेका छौँ । अहिले अस्पतालले पञ्चकर्मको लागि छुट्टै विभाग स्थापना गरेर सेवा दिँदै आएको छ । यस्तै रोग अनुसारको थेरापिटीक योगा दिएर पनि विरामीहको सेवा गर्दै आएका छौँ । जसले गर्दा पनि बिरामीहरु सेवा लिन आउने क्रम बढेको छ ।’
अस्पतालमा उपचार गर्न आएका बिरामीहरु भर्ना भएपछि उनीहरुले दैनिक बेड शुल्क २५ रुपैया दिने गरेका छन् । यो शुल्क एमदमै न्यून रहेको पनि अस्पतालले जनाएको छ । यस्तै अस्पतालमा ल्याब सेवा पनि रहेको हुँदा ल्याबमा पनि न्युनतम शुल्क रहेको अस्पतालमा निमित्त निर्देशक डा. ठाकुरको भनाइ छ । उनका अनुसार अस्पतालमा भर्ना भएका बिरामीहरुलाई दैनिक दुई टाइम खाना र नास्ता निःशुल्क दिइन्छ । उनले भने, ‘निजी अस्पतालको कुरा छोडौँ । अन्य सरकारी अस्पतालको भन्दा पनि न्युन शुल्कमा हामीले बिरामीहरुको उपचार गर्दै आएका छौँ । हामीले धेरै नाफा लिने भन्दा पनि बिरामीहरुको राम्रो सेवा प्रदान गर्ने उदेश्य लिएका छौँ । यस्तै हाम्रो फार्मेसीमा पनि बाहिरभन्दा २० प्रतिशत छुटमा औषधि दिने गरेका छौँ ।’
उनले अस्पातललाई ५० सैयासम्मको बनाउन सकेमा थप सेवा दिएर नागरिकहरुको मन जित्ने पनि दाबी गरे । यस्तै उनले अहिले अस्पताल ३० सैयाको भएयता पनि अस्पतालमा १५ सैया हुने बेलाको हुँदा जनशक्ति हुँदा पनि बिरामीहरुलाई राम्रो सेवा प्रदान गर्दै आएको पनि बताए । उनले भने,‘ अब हामीलाई ५० सैया संचालन गर्न मिल्ने भौतिक संरचना र जनशक्ति पनि त्यही अनुसार भएमा हामी यसलाई पुरै प्रदेशमा आयुर्वेदमा उत्कृष्ट संस्था बनाउन सक्छौँ । हामीले धेरै नागरिकहरुलाई सेवा प्रदान गर्न सक्छौँ । त्यसको लागि प्रदेश सरकारले ध्यान दिन जरुरी छ ।’
पञ्चकर्ममा दैनिक ४० जना भन्दा बढि र थेरापीमा ८० जनासम्म सेवा लिन आउने
हिजो आज अस्पातलमा पञ्चकर्म अन्तर्गत विभिन्न सेवा लिन दैनिक ४० जना भन्दा बढी आउने गरेको पञ्चकर्मका ईञ्चार्ज राजन कुमार चौधरीले बताए । उनका अनुसार दैनिक रुपमा दाङ लगायत आसपासका विभिन्न जिल्लाहरुबाट बिरामीहरु सेवा लिन आउने गरेका छन । यस्तै थेरापीको लागि पनि दैनिक ८० जना भन्दा बढी बिरामीहरु सेवा लिन आउने गरेको उनको भनाइ छ । – साक्षीखबरबाट