नेपालमा मात्रै पाइने दुर्लभ चरा काँडे भ्याकुर ठाडादहमा फेला

अर्घाखाँची । नेपालमा मात्रै पाइने दुर्लभ चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगङ्गा नगरपालिका–स्थित ठाडादह क्षेत्रमा पहिलोपटक फेला परेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा यस प्रजातिको चरा अभिलेख हुनुले यहाँको जैविक विविधता र प्राकृतिक बासस्थानको महत्व थप उजागर गरेको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन । ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लामा पाइने चराका प्रजाति र तिनको बासस्थानबारे नयाँ जानकारी प्राप्त भएको छ ।

कार्यालयका सूचना अधिकारी केसर खड्काले नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने यो चरा ठाडादहमा देखिनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

अङ्ग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुरको वैज्ञानिक नाम ‘एकान्थोप्टिला निपालेन्सिस’ हो । यो नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ ।

काँडे भ्याकुर सामान्यतया घना झाडी, वनका झाडीदार क्षेत्र तथा प्राकृतिक वनस्पतिले ढाकिएका स्थानमा बस्ने गर्छ । लजालु स्वभावको यो चरा प्रायः झाडीभित्र लुकेर बस्ने भएकाले सहजै देख्न कठिन हुन्छ । त्यसैले नयाँ क्षेत्रमा यसको उपस्थिति अभिलेख हुनुलाई पक्षी अध्ययन र जैविक विविधताको पहिचानका दृष्टिले महत्वपूर्ण मानिएको सूचना अधिकारी खड्काले बताए ।

प्राकृतिक सुन्दरता र जैविक विविधताका दृष्टिले महत्वपूर्ण ठाडादहमा काँडे भ्याकुर देखिनुले यस क्षेत्रको पर्यावरणीय महत्वसमेत पुष्टि गरेको छ । यहाँका वन तथा प्राकृतिक बासस्थानमा अन्य प्रजातिका चरासमेत हुन सक्ने सम्भावना रहेको छ ।

सूचना अधिकारी खड्काले काँडे भ्याकुरजस्ता दुर्लभ चराको संरक्षणका लागि प्राकृतिक बासस्थान जोगाउन आवश्यक रहेको बताए । वन विनाश, झाडी तथा प्राकृतिक वनस्पतिको क्षयीकरण र मानवीय गतिविधिले यस्ता चराको बासस्थानमा असर पार्न सक्ने भएकाले संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

ठाडादहमा काँडे भ्याकुरको पहिलो अभिलेखले अर्घाखाँचीको जैविक विविधताबारे थप अध्ययन गर्ने अवसर सिर्जना गरेको छ । साथै, दुर्लभ चराको संरक्षणसँगै यस क्षेत्रलाई पक्षी अवलोकन, अनुसन्धान र पर्यापर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनासमेत देखाएको छ । रासस

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस