सोमबारदेखि देशभर झरी पर्ने अनुमान

काठमाडौं । यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको छ । मौसम विज्ञान विभागको तथ्यांक अनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

सन् १९९१ देखि सन् २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शुन्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्यांक छ ।

नेपालमा मंसीर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिन्छ । यस वर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकोले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले बताए ।

हिउँदमा पानी कम पर्दा सुख्खा बढेको छ । यसको असर हिउँदे बालीमा प्रत्यक्ष असर देखिनुको साथै वहुआयामिक असर पर्ने जलवायु एवम् विपतविज्ञ उप्रतीले बताए ।

यसैबीच आउँदो सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहिबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए । हिमाली भेगमा भने मंगलवारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको उनले बताए ।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस