रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले एक कार्यक्रमकाबीच वडा नं. १ योगीकुटीस्थित इलेक्ट्रिक ट्राम रेल्वेको शिलान्यास गरेका छन् ।
२०७६ सालदेखि शुरु गरिएको रेल सञ्चलान योजनामा ५ सय ३४ जना शेयर सदस्यहरु रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले जनाएको छ । तिलोत्तमा नगरपालिका प्रमुख खाँणले तिलोत्तमावासीको गौरवपूर्ण योजना भएकाले नेपालकै पहिलो ट्राम रेल सञ्चालन गरेर आर्थिक उन्नती एंव अन्य क्षेत्रहरुको विकास हुने कार्यमा नगरवासीको दायित्व अत्यावश्यक रहेको बताएका थिए ।
तिलोत्तमा चक्रपथ निर्माण गरी इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्ने प्रक्रियाको डीपीआरलाई करिव एकहप्ता अगाडि जनप्रतिनिधि, तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य लगायत शेयरकर्ताहरु विच प्रस्तुत गरिएसंगै भौतिक निर्माणलाई अघि बढाईएको थियो ।
नागरिक, स्थानीय तह र दातृ निकायको संयुक्त लगानीबाट इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्ने भनिएपनि यद्यपि दातृ निकायले चासो नदिएमा पब्लिक–नगरपालिका विच ५१÷४९ को लगानी मिलाएर सञ्चालन गर्न सकिने बताईएको छ । रेल सञ्चालनले नगरपालिका सहित नागरिक तथा देशैकै आर्थिक विकास, कृषि उत्पादनको बजारीकरण, ऐतिहासिक धार्मिक स्थल लगायत क्षेत्रहरुमा पर्यटकहरुको आगमन ह्वात्तै बढ्ने तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका प्रवन्धक भोलानाथ शर्माले बताए ।
शिलान्यास कार्यक्रममा वोल्दै प्रवन्धक शर्माले बार्षिक १ अरब २ करोड रुपैयाँ आम्दानी हुने जनाए । ट्राम रेलले वातावरण प्रदुषण, धुलोधुवाँ उडाउने र सार्वजनिक सवारी जस्तै चर्को भाडादर नहुने र रोजगारी लगायत स्थानियहरुले प्रत्यक्ष फाईदा लिन पाउने दावी गरे । जसले गर्दा स्थानिय स्तरमा आगामी दिनमा यात्रुहरु सवार गर्दा गाडीमा नभई रेलमा नै चढ्ने खालको वातावरण आउने उल्लेख गरे ।
चक्रपथमा जम्मा १२ वटा ट्राम रेल सञ्चालन हुने, दैनिक २५ हजार यात्रुहरुले सवार गर्ने र रेलमा आधुनिक एसी सहितको व्यवस्था तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले जनाएको छ । कुल पुँजी साढे ८ अरब लाग्ने भएपनि भ्याट सहित १० अर्ब लाग्ने डीपीआर प्रतिवेदनले देखाएकोे छ । ट्राम रेलले स्थानीय कृषिजन्य पदार्थको उत्पादन तथा बजारीकरण सहुलियतसँगै सहजता हुने भएकाले खेतीयोग्य जमिनहरु बाँझो हुने समस्या अन्त्य हुने समेत विश्वास लिईएको छ ।
तिलोत्तमा नगरपालिका वडा न–२ योगिकुटीमा पहिलो स्टेशन राखिने भएको छ । योगिकुटीदेखि रोहिणी खोलाको ड्यामसम्म पहिलो चरणमा १५ किलोमिटर दूरीमा इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्नेगरी अघि बढेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले ४ किलोमिटर दूरीको निर्माण कार्यलाई शिलान्यास गरेको छ ।


