तिलोत्तमा इलेक्ट्रिक ट्राम रेलको पुस ८ मा औपचारिक शिलान्यास हुने

रुपन्देही । तिलोत्तमा चक्रपथ निर्माण गरी इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्ने प्रक्रियाको डिपिआर प्रस्तुत गरिएको छ । ट्राम रेल सञ्चालन गर्नका लागि तिलोत्तमा नगरपालिका वडा–१ बनवाटिका स्थित ०७७ सालमा तिलोत्तमा पब्लिक रेल्वे कम्पनीको कार्यालय स्थापना गरेर औपचारिक रुपमा काम थालनी गरिएको थियो । पब्लिक, स्थानीय तह र दातृ निकायको संयुक्त लगानीबाट इलेक्ट्रिक ट्राम रेल सञ्चालन गरी रुपन्देहीको आर्थिक विकास, पर्यटकीय गन्तव्यहरुको प्रर्बधन हुने बताइएको छ ।

मुनस्टार इन्जिनियर कन्सल्टेन्सी दाङले तयार पारेको डिपिआरको तिलोत्तमा नगरपालिका नगरप्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरुको मंगलवार एकभेला आयोजना गरी डिपिआर प्रस्तुत गरिएको थियो । डिपिआरबारे तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका प्रवन्धक तथा सञ्चालक भोलानाथ शर्माले रेल सञ्चालनका लागि निर्माण कार्य, लागत, आदिका विषयमा जानकारी दिएका थिए । शर्मा जनकपुर रेल्वे कम्पनीका पूर्वमहाप्रवन्ध हुन् । तिलोत्तमामा ट्राम सञ्चालन गर्ने योजना ल्याउने मुख्य योजनाकार मानिन्छन् ।

रेलको भौतिक संरचना निर्माणदेखि सञ्चालन गर्ने कार्यदेखि सम्पन्न हुँदासम्म कुल पुँजी साढे ८ अर्ब, भ्याट सहित १० अर्ब लाग्ने डिपिआर प्रतिवेदनमा उल्लेख छ ।

छिमेकी देश भारत लगायत विशेषगरी युरोपियन देशहरुमा सञ्चालन भएको ट्राम रेल नेपालका लागि नौलो अभ्यास र नयाँ आयोजना हो । यो नेपालमा पहिलो आयोजना भएको दावी गरिएको छ । ट्राम रेल सञ्चालनले आर्थिक, भौतिक, सामाजिक, कृषि, पर्यटन र धार्मिक क्षेत्रहरुको विकास एंव प्रर्बधनका लागि प्रत्यक्ष टेवा पुग्नुका साथै पर्यटकहरुको रोजाईमा पर्ने डिपिआर प्रतिवेदनमा खुलाईएको छ ।

तिलोत्तमा नगरपालिका वडा न–२ योगिकुटीदेखि रोहिणी खोलाको ड्यामसम्म पहिलो चरणमा १५ किलोमिटर दुरीमा इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्नेगरी अघि बढेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले ४ किलोमिटर दुरीको निर्माण कार्यलाई तत्काल शुरु गर्ने भएको छ । जसको शिलान्यास पुस ८ गते गर्ने र औपचारिक रुपमा कामलाई अगाडि बढाइने रेल्वे कम्पनीका अध्यक्ष हरि प्रसाद तिवारीले बताए । । ‘अब हामी ४ किलोमिटरको कामलाई थाल्छौं, त्यो सकिए लगत्तै फेरी दोस्रो चरणको कामलाई सुचारु गर्छौं । निर्माण कार्यलाई छिटो गर्नेगरी अघि बढेको र यसका लागि सबैको सहयोग अपरिहार्य रहेको उनले बताए ।

हालसम्म ५ जना शेयर सदस्यहरु रहेको तिलोत्तमा पब्लिक रेल कम्पनीले आयोजना गरेको डिपिआर प्रतिवेदन सार्वजनिक कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले रेल सञ्चालनले नगरको गरिमा बढाउने भन्दै आर्थिक क्रान्तिको पहिलो जग बन्ने अपेक्षा गर्दै गरेका बताए । उक्त कम्पनीमा आफुले पनि शेयर हाल्ने प्रतिवद्धता गरे । त्यस्तै उपमेयर जागेश्वरी चौधरीले सो आयोजनामा नगरपालिका सहमत भएको बताउँदै, सहयोग गर्न तत्पर रहेको बताइन् ।

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस