
पाल्पा । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको समन्वय र नेपाल पंक्षी संरक्षण संघ लाजिम्पाट काठमाडौंको आयोजनामा कात्तिक २४ गते तानसेन पाल्पामा गिद्ध संरक्षण गर्न पशु चिकित्सक तथा पशु स्वास्थ्य प्राविधिकहरुबीच तालिम सम्पन्न भएको छ ।
तालिममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालले भारत, नेपाल र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानहरुबाट गिद्धहरुको संख्यामा ह्रास आउनुको मुख्य कारण नन्–स्टेरोईडल एन्टि–इन्फ्लेमेटरी औषधी, डाईक्लोफेनेक भएको बताए । धेरै प्रकारका दुखाई र सुन्निने अवस्थामा औषधिको रुपमा मानिस र पशु दुवैमा डाईक्लोफेनेक प्रयोग गरिन्छ । त्यसरी डाईक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईवस्तुहरुको सिनो गिद्धहरुले खाँदा डाईक्लोफेनेकको असरले गर्दा मृगौलाले काम नगरेपछि गिद्ध मर्ने गरेको उनको भनाइ थियो ।

पछिल्लो अनुसन्धानहरुले फ्लुनिक्सीन, कारप्रोफेन, निमुसुलाइड, एसिक्लोफनेक, किटोप्रोफेनलगायतका औषधीहरु गिद्धका लागि विषाक्तता मानिएका छ । मेलोक्सीक्याम र पछिल्लो समयमा उत्पादन गरिएको टोल्फेनामिक एसिड गिद्धहरुका लागि सुरक्षित मानिएको खनालले बताए ।
गिद्धको महत्व, गिद्ध घट्नुको कारण, गिद्ध संरक्षणका बारेमा भएका प्रयास, गिद्ध सुरक्षित क्षेत्र र अगामी दिनमा गिद्ध संरक्षणको लागि गरिने पहलहरुका बारेमा नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले उक्त तालिममा प्रशिक्षण दिएका थिए । कार्यक्रममा पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, समुदायिक वन र संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो ।
नेपालमा गिद्ध संरक्षणको लागि नेपाल पंक्षी संरक्षण संघले नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिजिभन वन कार्यालल, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्, सामुदायिक वन, स्थानीय साझेदार संस्थाहरु र समुदायहरुको समन्वय तथा सहयोगमा विगत दुई दशकदेखि कार्य गर्दै आइरहेको छ ।