मौसमी प्रणाली कमजोर बन्दै, बेलुकीदेखि मौसम सफा हुँदै जाने

काठमाडौं । एक हप्ताअघिदेखि देशका सबैजसो ठाउँमा पानी पारेको मौसमी प्रणाली कमजोर बनेको छ ।

हिजोसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा गराएको प्रणाली आजदेखि कमजोर भएको मौसमविद् विनु महर्जनले बताए ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा बदली भएर केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र बेलुकीदेखि मौसम सफा हुँदै जाने उनले बताए ।

काठमाडौं उपत्यकासहित पूर्वका क्षेत्रमा भने अझै तीन दिनसम्म मौसम बदली हुने सम्भावना रहेको छ । मौसम बदली भएर सामान्य पानी परे पनि ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद् महर्जनले बताए ।

अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा सामान्य पानी परिरहेको छ । बङ्गालको खाडीमा विकास भएको न्यून चापीय क्षेत्र सर्दै भारतको हरियाणा आसपासमा रहेको र त्यसको प्रभावले नेपालमा बदली भएको मौसमविद्ले बताएका छन् ।

पछिल्लो पटक पानी पारेको प्रणाली कमजोर बन्दै गएको र तत्काल अर्को प्रणाली नदेखिएकोले अब केही दिनमा नेपालबाट मनसुन बाहिरिने सम्भावना रहेको पनि मौसमविद् महर्जनले बताए ।

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस