विश्व बैंकले नेपाललाई १३ अर्ब ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (१३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि नयाँ विकास नीति ऋण (डीपीसी)का लागि नेपाल सरकार र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण प्राप्ति सम्बन्धित सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ ।

बजेटरी सहायताका रुपमा यो ऋण परिचालन हुने भएको छ । ग्रिड अन्तर्गत तीन सहुलियतपूर्ण ऋण डीपीसी मध्येको यो पहिलो शृङ्खला हो ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका छन् ।

यस कार्यक्रमले नेपालको अर्थतन्त्रलाई हरितकरण गर्नका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा र ठोस फोहोर व्यवस्थापन जस्ता क्षेत्रहरूमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताइएको छ । विकास सम्बन्धी निर्णय प्रक्रियामा समावेशीतालाई सुदृढीकरण गर्नुका साथै स्रोत तथा सेवाहरूमा सबैको पहुँच बढाउनका लागि गरिने सुधार कार्यहरूमा पनि यस कार्यक्रमले सघाउनेछ ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस