सेयर बजारमा सामान्य गिरावट, नेप्से २६२१ अंकमा झर्‍यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ७.३८ अंकले घटेर २ हजार ६२१ अंकमा झरेको हो । अघिल्लो कारोबार दिन भने बजार ३.६२ अंकले बढेको थियो ।

शुक्रबार कारोबार भएका कम्पनीमध्ये ८९ वटाको सेयर मूल्य बढ्दा १८१ वटाको घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस दिन बैंकिङ समूहबाहेक सबै समूहका सूचक ओरालो लागेका छन् । बैंकिङ समूह ०.४० प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै १.३९ प्रतिशतको गिरावट आएको छ ।

विकास बैंक समूह ०.२३, फाइनान्स ०.५९, जलविद्युत् ०.२९, लगानी ०.२३, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन ०.८१, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.२७, अन्य ०.७८ र व्यापार समूह ०.५२ प्रतिशतले घटेका छन् ।

शुक्रबार दोल्ती पावरको सेयर मूल्य सबैभन्दा धेरै ५.४१ प्रतिशतले बढेको छ । भूगोल इनर्जीको ४.२६, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३ र एभरेस्ट कलरको २.८३ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, पाल्पा सिमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ६.५५ प्रतिशतले घटेको छ । स्वस्तिक लघुवित्तको ५.०५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१ र त्रिशूली जलविद्युत्को ३.२४ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा रहेको छ । त्यसपछि क्रमशः लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, स्वेतगंगा हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, सेन्ट्रल फाइनान्स र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन् ।

प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस