अमेरिकामा एकैदिन १० लाख बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् ।

हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएको छ । तर विश्वका अन्य कुनै पनि देशमा एकैदिन यति धेरै संक्रमण पुष्टि भएको थिएन । अमेरिकामा गत साताभन्दा दोब्बरले संक्रमण बढेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

संक्रमण बढ्दो क्रममा रहे पनि राष्ट्रपति जो बाइडनले स्कुलहरु खुला राख्न निर्देशन दिएपछि उनको आलोचना भइरहेको छ । कोरोनाको लहर बढिरहेको बेला अमेरिकी अधिकारीहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च विन्दुमा पुग्न बाँकी नै रहेको बताएका छन् ।

कोरोनाको नयाँ संक्रमण तीव्र रुपमा बढे पनि अस्पताल भर्ना हुने र मृत्यु हुने दर भने अघिल्लो लहरको तुलनामा कम रहेको उनले बताएका छन् । अस्पतालमा जो भर्ना भएका छन् र जसको मृत्यु भएको छ ती कोरोनाविरुद्धको खोप नलगाएकाहरु धेरै छन् ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस