
बिजौरी । इलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनस्थापना केन्द्रमा रहेका उपचारार्थीहरुलाई दुर्व्यसनी र रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । त्यहाँ रहेका उपचारार्थीहरुलाई दुर्व्यसनी, रोकथाम र दुर्व्यसनीबाट कानुनी कारवाही सम्बन्धित सचेतना दिइएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले अभिभावकहरुको सन्तानप्रति निगरानीको कमी, संगतको प्रतिफल, संस्कृत र रमाइलोको नाममा पछिल्लो समय बालबालिकादेखि जेष्ठ नागरिकसम्मका व्यक्तिहरु लागुपदार्थको दुर्व्यसनीमा फस्दै गएको बताए । उनले लागुपदार्थ दुर्व्यसनीको मुद्दामा पाँच लाखदेखि ७७ लाखसम्म जरिवाना, पाँच वर्षदेखि १५ वर्षको कैद वा घटनाको प्रकृतिअनुसार जन्मकैदको व्यवस्था भएको बताए ।
अर्यालले उपचारार्थीहरुलाई नयाँ पाइलाबाट नयाँ जीवन प्राप्त गरेर समाजमा उदाहरणीय व्यक्तित्व बन्न आग्रह गरेका थिए । उपचार केन्द्रमा १५देखि ६५ वर्षसम्मका व्यक्तिहरु रहेकाले लागुपदार्थको दुर्व्यसनीमा सबै फस्दै गएको बताए । रमाइलो, मनोरञ्जन, संस्कृति वा साथीहरुको लहलहैमा जीन्दगी नबिर्गान समेत उनले आग्रह गरे ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालले हालसम्म एक हजार बढीलाई उपचार पश्चात् समुदायमा पुनस्थापित गरेको त्यसमध्ये ६५ जनालाई निशुल्करुपमा उपचार गरेको जानकारी गराएका थिए ।
साथै साविक राप्ती अञ्चलका जिल्लाहरुमा रहेका विद्यालय, क्याम्पस, त्यहाँ आयोजना गरिने मेला, महोत्सव, कार्यक्रमहरुमा अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए ।
त्यसैगरी सिप सिकेर आत्मनिर्भर हुन चाहने व्यक्तिहरुका लागि सिप र आवश्यक सामग्री समेत उपलब्ध गराएर स्वरोजगार बनाएको समेत जानकारी दिए । हाल संस्थामा ४५ जना उपचारार्थीहरु रहेको संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय तुलसीपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नयाँ पाइला पुनस्थापना केन्द्रमै पुगेर कार्यक्रम आयोजना गरेको हो ।