साउदी अरबमा ऊँट सुन्दरी प्रतियोगिता, विजेतालाई २५ करोड रियाल पुरस्कार

काठमाडौं । सुन्दर देखिनका लागि कतिपय मानिसहरुले अनुहारको कस्मेटिक सर्जरी गर्ने तथा बोटोक्स सुइको सहारा लिने गरेको सुनिन्छ । खासगरी मोडलिङ तथा सौन्दर्य प्रतियोगितामा भाग लिने मोडलहरुमा यस्तो गर्ने गरेका समाचार बेलाबेलामा आउँदछन् । तर कस्मेटिक सर्जरी र बोटोक्स सुइ अब मानिसमा मात्र सीमित रहेन । साउदी अरेबियामा सौन्दर्य प्रतियोगितामा भाग लिएका ४० वटा ऊँट सुन्दर देखिनका लागि सुइको प्रयोग गरेकै कारण अयोग्य घोषित भएका छन् ।

साउदी अरेबियामा हरेक वर्ष हुने ऊँट सुन्दरी प्रतियोगितामा भाग लिएका ती ऊँटलाई सुन्दर तथा सुडौल देखाउनका लागि उनीहरुका मालिकले बोटोक्स इन्जेक्सन लगाइदिएको पत्ता लागेको थियो । ऊँटलाई इन्जेक्सन लगाइएको खुलासा भएसँगै साउदी अरबका राजा अब्दुलाजिजकै निर्देशनमा ती ऊँटलाई ऊँटमहोत्सव अन्तरगतको सौन्दर्य प्रतियोगिताबाट निकालिएको हो।

साउदी प्रेस एजेन्सीका अनुसार ती ४० ऊँटलाई बोटोक्स इन्जेक्सनका लागि अन्यखाले कस्मेटिक सर्जरी पनि गराइएको थियो ।

स्मरण रहोस् साउदी अरेबियामा ऊँटमा सुइमार्फत फिलर्स, बोटोक्स तथा हर्मोन दिइएको पाइएमा १ लाख रियाल जरिवाना तिर्नुपर्ने प्रावधान छ । साथै ऊँटलाई रंगाउने तथा पुछर काट्ने गरेमा ३० हजार रियाल जरिवाना तिर्नुपर्दछ ।

यति हुँदाहुँदै पनि साउदी अरेबियामा धनाढ्य ऊँट मालिकहरुले ऊँटसुन्दरी प्रतियोगितामा आफ्नो ऊँटलाई अब्बल बनाउनका लागि ऊँटको ओठमा कोलेजन लिप फिलर्स प्रयोग गरी ओँठलाई स्ट्रेच गर्ने र ठूलो बनाउने गर्दछन् । साथै कृत्रिम रुपमा ऊँटको मांशपेशी पनि बढाइन्छ र रबर ब्याण्डको प्रयोग गरेर ऊँटका सरीरका अंगहरु फुलाइन्छ ताकि ऊँट आकर्षक देखियोस् ।

साउदी अरेबियामा हरेक वर्ष डिसेम्बर महिनामा ऊँट सुन्दरी प्रतियोगिताको आयोजना गरिन्छ । प्रतियोगितामा विजेता हुने ऊँटले २५ करोड रियाल पुरस्कार पाउँदछ । एजेन्सी

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस