तुलसीपुर । नेकपा समाजवादीका नेता मेटमणि चौधरीले भर्खरै एमालेमा सर्वसम्मत रुपमा महासचिव बनेका शंकर पोख्रेललाई दाङबाट चुनाव लडेर देखाउन चेतावनी दिएका छन् । एकीकृत समाजवादीले शुक्रबार तुलसीपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो चेतावनी दिएका हुन् ।
‘शंकर पोख्रेलजी तपाई साँच्चै दाङबाट चुनाव लडेर देखाउन चाहनुहुन्छ भने निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लडेर देखाउनुहोस्, मैले तपाईलाई चुनाव खर्च स्वरुप १५ लाख रुपैया आर्थिक सहयोग गर्ने छु’—मेटमणिको चेतावनी थियो ।

सो कार्यक्रममा प्रमख अतिथि तथा नेकपा समाजवादी पार्टीका केन्द्रीय उपमहासचिव विजय पौडेलले नेकपा एमालेमा देखिएको ओलीवाद कम्युनिष्ट आन्दोलनप्रतिको धोखा भएको बताउँदै अवको ६ महिनाभित्र आफुहरुको पार्टी सबैभन्दा ठुलो पार्टी हुने बताएका छन् । एकीकृत समाजवादी पार्टी दाङले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिए ।
उनले आफुहरु संगठन निर्माणदेखि समाजवादको बाटोमा लागेको भन्दै एमाले भन्दा ठुलो पार्टी हुने दावि गरे । तुलसीपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले समाजवादको बाटोमा आफ्नो पार्टी हिडर्ने बताए । आफुहरुका नीति कार्यक्रमहरु र एजेण्डाहरुप्रति जनताको आक्रर्षण बढ्दै गएको उनको भनाई थियो । उनले नेकपा एमालेका अध्यक्ष केपी वलीले कम्युनिष्ट आन्दोलनलाई कम्जोर पारेको भन्दै अब सबै कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर समाजवाद निर्माणमा आफुहरु लाग्ने बताए । उनले दुई तिहाई मत दिएर जनताले सरकारमा पठाएका वलीले पार्टीमा दलाली पूँजिवाद र गुण्डाहरु भित्र्याएको बताए ।

उनले जनताले दुई तिहाइको सरकारले समाजवादतर्फ उन्मुख बजेट ल्याउने आशा गरे पनि दुई दुई पटक त्यो ल्याउन नसकेको बताए । उनले तत्कालीन गणतन्त्रका विरोधी ओलीलाई सत्ताको चावी र पार्टीको नेतृत्व दिदा अहिले यो अवस्था आएको बताए ।
‘हामीले पार्टीमा पहिले धेरै उदारता देखाएका कारणले यो अवस्था भोगेका छौं, गणतन्त्र विरोधी, तुलसी गिरीको पालामा सरकारमा जान खोजेका ओलीको उहिलेनै सदस्यता खारेज गरेको भए यो अवस्था आउने थिएन् उपमहासचिव पौडेलले भने ।’ उनले ओलीलाई आफुहरुले उदारताको नाममा धेरै छुट दिएकाले त्यसैको फल अहिले भोग्नु परेको बताए । उनले केपी ओलीको सरकारले भष्ट्राचार गरेको र धेरै व्यथिति भित्र्याएको भन्दै अब जनता माझ सो कुरा लिएर जानुपर्ने बताए । उनले ठुलो लगानि साथ वि.सं. २००६ सालदेखि पार्टी निर्माणमा लागेको भन्दै अहिले आएर कम्युनिष्ट आन्दोलन र जनतालाई ओलीले धोका दिएको बताए ।
उनले केपी वलीले समाजवादको सपना तुहाइ दिएको भन्दै अब नेकपा समाजवादी पार्टीले सो सपना पुरा गर्ने भन्दै गाउँ गाउँ टोलटोलमा संगठन निर्माण गर्न लाग्न कार्यकर्तालाई आह्वान गरे । ‘वैचारिक संघर्षलेनै पहिले पनि ठुलो पार्टी बनाएका हौं अब पनि हामीहरुले जनतालाई बुझाएर संगठनलाई बलियो बनाउन लागनुपर्छ उनले भने । उनले केपी ओलीको सरकार संस्थागत भष्ट्राचारमा तलीन भएको भन्दै बदमासहरुलाई विश्वास गर्दा जनताले धोका पाएको बताए । पौडेलले अहिलको गठबन्धन सरकारले धेरै काम गर्न नसके पनि बिग्रिएको राजनीति र संविधान र प्राप्त उपलब्धिहरुलाई रक्षा गर्ने काम गरेको बताए ।
जिल्ला अध्यक्ष सुरामणि वेलवासेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी पार्टीका स्थायी कमिटी सदस्य मेटमणि चौधरीले नेकपा एकीकृत समाजवादी पार्टी एमालेबाट चोइटिएर जन्मिएको पार्टी नभएर एमालेबाट विद्रोह गरेर बनेको पार्टी भएको बताउँदै समाजवादी पार्टीमा मेचिदेखि महाकालीसम्मका कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको बताए । विश्वमा ठुलाठुला कम्युनिष्ट पार्टीहरुको जन्म विद्रोहबाटै भएको भन्दै एकीकृत समाजवादी चांडैनै मुलुकको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बन्ने पनि उनले दावी गरे । ‘पुस्पलालले नेपाली कांग्रेससंग विद्रोह नगरेको भए सायद नेपालमा कम्युनिष्ट पार्टीको स्थापनानै हुने थिएन, अहिले ओलीको कम्पनीबाट विद्रोह गरेर हामीले नयाँ पार्टी गठन गरेका हौं’—नेता चौधरीले भने । सम्पूर्ण जिल्ला स्तरीय नेता कार्यकर्ताहरुलाई निर्वाचनको माहौलमा लाग्न आग्रह गर्दै नेता चौधरीले एकीकृत समाजवादी पार्टीलाई बलियो पार्टी बनाउन सबै कम्युनिष्ट पार्टीहरुबाट एकपछि अर्को समुह समाजवादीमा प्रवेश गरिरहेको पनि बताए ।
‘हामीले जम्मा ३ महिना १४ दिनको अवधिमा मुलुकका ७७ औं जिल्ला सहित ७३३ स्थानीय पालिका र प्रवाशमा समेत संगठन निर्माण गरिसकेका छौं, अब संगठनलाई बलियो बनाउने अभियान सुरु भैसकेको छ’—नेता चौधरीले बताए । ओली नेतृतवको सरकारको आडमा रहेर घोराही उपमहानगरपालिका तथा तुलसीपुर उपमहानगरपालिका समेत भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै जनप्रतिनिधिनै ठेक्कामा सहभागी भएका कारण जिल्लामा चारलेन सडकको यो हविगत भएको पनि नेता चौधरीको अभिव्यक्ति थियो । साथै उनले नेकपा एमालेका नवनिर्वाचित महासचिव शंकर पोख्रेललाई दाङबाट चुनाव लडेर देखाउन पनि चेतावनी दिए । ‘शंकर पोख्रेलजी, तपाई दाङको १ नम्बर क्षेत्रबाट चुनाव लड्ने आँट गर्नुहुन्छ भने मैले १५ लाख रुपैया आर्थिक सहयोग गर्न तयार छु’—पोख्रेललाइ चुनौति दिंदै नेता चौधरीले भने ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिव भागवत विश्वासीले एकीकृत समाजवादी पार्टी स्थापनाको छोटो समयमै जनतामाझ स्थापित भैसकेको दावी गर्दै आसन्न निर्वाचनमा एकीकृत समाजवादी पार्टीको विजय सुनिश्चित भएको बताए । ‘केपि ओलीको अधिनायकवादका विरुद्ध हाम्रो पार्टीमा आम नेता कार्यकर्ताहरु आइसकेका छन्, र यो क्रम अझै बढिरहेको छ’, नेता विश्वासीले भने । उनले समाजवादी पार्टीको संगठन बलियो भएको देखेर नेकपा एमाले अत्तालिएको पनि अभिव्यक्ति दिए । अर्का नेता तथा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद हिराचन्द्र केसीले एमालेमा ओलीको एकलौटि अधिनायकवादको विद्रोह स्वरुप नेकपा एकीकृत समाजवादी पार्टीको जन्म भएको भन्दै छोटो समयमै पार्टी विस्तारको अभियान अत्यन्तै उत्साहजनक रुपमा अघि बढिरहेको दावि गरे ।
सो अवसरमा महिला नेतृ अनारकली मिया, जोगवहादुर राना, वामदेव शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुले अन्य पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए भने कार्यक्रमकाबीच विभिन्न सांस्कृतिक प्रस्तुतीहरु देखाइएको थियो । एकीकृत समाजवादी दाङका उपाध्यक्ष चुर्ण बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यकर्ता भेलाको सहजीकरण जिल्ला पार्टी सचिव मीना गुरुङले गरेकी थिइन् । सो अवसरमा नेकपा एमाले र अन्य दल परित्याग गरेर १५७ जनाले नेकपा समाजवादी पार्टी प्रवेश गरेको संगठन विभाग प्रमुख डिल्लीबहादुर डाँगीले बताएका छन् ।


