बैंक र वित्तीय संस्थाहरूबाट नयाँ नोट साट्न सकिने

काठमाडौँ । यसवर्ष पनि सर्वसाधारणले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् । यस वर्षको दसैं र तिहारका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोकेर नयाँ नोट वितरण नगरेपनि साट्न आउने नागरिकका लागि त्यो सुविधा निरन्तर उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ ।

नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखामार्फत पनि नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ । आफ्नो ग्राहकलाई वितरण गर्नका लागि भनेर बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख अनुज दाहालले बताए ।

‘यस वर्ष हामीले सार्वजनिक रुपमा सूचना जारी गरेर घोषित रुपले नयाँ नोट सटही गर्ने योजना छैन र माहोल पनि छैन,’ दाहालले भने, ‘यद्यपि स्वस्फूर्त रुपमा नयाँ नोट साट्न आउने जो कोहीलाई पनि एकरदुई सेट नयाँ नोट सटही गरेर पठाएका छौं ।’

यो वर्ष नयाँ नोट स्टकको समस्या नभएकाले पनि नागरिकलाई एकरदुई सेट नोट सटही दिने गरिएको दाहालले बताए । ‘नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि नयाँ नोट साट्न सक्छन् । त्यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिइसकेको छ,’ दाहालले भने ।

त्यसो त राष्ट्र बैंकले वर्षभरि (नियमित रुपमा) नयाँ अथवा सुकिला नोट सटी सुविधा दिँदै आएको छ । दसैं, तिहार र छठमा नयाँ नोटको माग बढी हुने भएकाले विगतका वर्षमा दसैं नजिकिँदै गर्दा निश्चिम मिति नै तोकेर उत्सवका रुपमा नयाँ नोट वितरण गर्दै आएको थियो ।

यस वर्ष भने कुनै तामझाम र उत्सवबिनै नोट सटही गर्न चाहनेहरुका लागि राष्ट्र बैंकले थापाथलीस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा दिन लागेको हो ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस