बिहान उठ्नेबित्तिकै चिया, नास्तापछि चिया, दिउँसो चिया, साँझ फेरि चिया । कतिपयलाई दिनमा ४–५ कप वा त्योभन्दा बढी चिया पिउने बानी हुन्छ । अझ कतिले त बिहान उठ्नासाथ खाली पेटमै दूधचिया खाइदिनुहुन्छ ।
आयुर्वेदले चियाको कप गनेर निश्चित सीमा तोकेको छैन । बरु अतिमात्रा, व्यक्तिको प्रकृति, पाचनशक्ति र सेवनको समयलाई महत्त्व दिन्छ । अर्थात् कुनै खाने वा पिउने कुरा शरीरले सहज रूपमा सहन सक्नेभन्दा बढी लिनु उचित मानिँदैन ।
आधुनिक विज्ञानले पनि यसको मात्रा व्यक्तिअनुसार फरक हुने बताउँछ । अधिकांश स्वस्थ वयस्कमा दिनभरिका सबै स्रोतबाट ४०० एमजी सम्म क्याफिनले खासै असर गर्दैन । तर चियामा क्याफिनको मात्रा प्रकार, कपको आकार र कति कडा बनाइएको छ भन्नेमा निर्भर हुन्छ ।
त्यसैले ४–५ कप चिया पिउँदै हुनुहुन्छ भने आफ्नो बानी र शरीरको प्रतिक्रिया हेर्नुहोस् । निद्रा नलाग्ने, बेचैनी, मुटु ढुकढुक हुने, पेट असहज हुने वा वाकवाकी हुने भए क्याफिन बढी भइरहेको संकेत हो ।
अर्को महत्वपूर्ण कुरा, खाना खानेबित्तिकै चिया नपिउनु राम्रो । चियाले विशेषगरी वनस्पतिजन्य खानाबाट प्राप्त हुने आइरनको अब्जोर्प्सन घटाइदिन्छ ।
चिया छोड्नैपर्छ भन्ने होइन, मात्रा, समय र आफ्नो शरीरको प्रतिक्रिया बुझेर पिउनुहोस् ।


