आज १ बजेदेखि पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने

धादिङ । अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध भएको सडकखण्डमा सवारी आवागमन सहज बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अवरोध नआएमा आज अपराह्न १ बजेदेखि पृथ्वीराजमार्ग भएर चल्ने सबै सवारी साधन सञ्चालनमा आउनेछन् । विभिन्न स्थानमा गएको पहिरो तथा सडक भासिएपछि हाल एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ ।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । सवारी चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पूर्णरूपमा पालना गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस