हिन्दु अधिराज्य, राजमुकुट र वैदिक हिन्दु परम्परा नेपालको प्रतिष्ठा हो

मैले नेपालको राष्ट्रियता बारेमा जीवनको प्रारम्भदेखि चासो राख्दै आएको छु । हिमवतखण्ड नेपालको राजसंस्था, धर्म र वैदिक सभ्यताको जानकारीको धेरै विभिन्न पुस्तकहरुको अध्ययन गरे । योगी नरहरिनाथ जस्ता विद्वानहरु, विभिन्न लेखकहरुसँग पनि भेटेर जानकारी लिएँ । प्राचीन समयमा नेपाल अहिलेको भन्दा धेरै ठूलो थियो । पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश मानशरोवर र दक्षिणमा गंगासम्मको भूभाग ‘हिमवतखण्ड–नेपाल’ हो । समयकाल परिस्थितिले हिमवतखण्ड विभिन्न टुक्रामा विभाजित हुन पुगेको थियो । चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्तगुप्तको प्रयोगको अभिलेखमा–‘कामरुप (आसाम) र कर्कपुर (कुमाऊँ)को बिचको देशलाई ‘नेपाल’ भनी लेखिएको कुरालाई हेर्दा प्राचीनकालमा हिमवतखण्ड नेपाल भन्नाले आजको भन्दा ठूलो र प्रभावशाली थियो भन्ने कुरा थाहा हुन्छ । हिमवतखण्डको यो क्षेत्र पृथ्वीभरमा एउटा स्वर्णभूमि हो । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको– ‘भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि’ भनेको कुरालाई ह्रृदयाङ्गम गर्दा यो क्षेत्र कति महान छ भन्ने कुरा बुझिन्छ ।

कालीदासले पनि कुमार सम्भवको पहिलो श्लोकमा हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्मनैं यो आर्यभूमि हो भनेर पुष्टि गरेका छन् । भारतखण्डमा अंग्रेजी सम्राज्यले हिन्दुत्वको अस्तित्व समाप्त गराएर इसाईकरण गरेको थियो । त्यो अवस्थामा विक्रम संवत् १८०० तिर गोर्खाका राजा पृथ्वीनारायण शाहले विक्रम संवत् १७९९ साल चैत्र २५ गते रामनवमीको दिन राजयरोहण गरेर तीर्थको लागि कासी जाँदा अंग्रेजी सम्राज्य हिन्दु मन्दिर भत्काउने, हिन्दुहरु मार्ने अनेकौं ध्वन्सात्मक कार्य गरेर इसाई सम्राज्य स्थापित गर्न लागेको अवस्था देख्दा पृथ्वीनारायण शाहलाई गोर्खा लगायत हिमवतखण्डका हिन्दु राज्यहरु जोगाउने प्रेरणा मिलेको थियो । त्यही प्रेरणाबाट पृथ्वीनारायण शाहले नुवाकोट, किर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुरदेखि टिष्टासम्मका टुक्रा टुक्रा भएका हिन्दुपति सेनबंशी राजाहरुको राज्य लगायत पृथ्वीनारायण शाहपछि उनका कान्छा छोरा बहादुर शाह र अमरसिंह लगायत कैयौं योद्धाहरुबाट बाइसी, चौबिसी लगायत कुमाउगढ, लगायतका हिन्दु राज्यहरु एकीकृत भएर नेपालको एकीकरणको समयदेखि बनेको नेपाल संसारको नैं एक मात्र हिन्दु अधिराज्य हो ।

साम्राज्यवादी शक्तिसँग भिडेर नेपालका राजाहरुले नेपालको सार्वभौमसत्ता बचाएर अनेकौं जाति, भाषा, धर्म र क्षेत्रीयतालाई सन्तुलित राख्न र अनेकतामा एकताको नीति कायम गर्न सक्ने नेपालको राजसंस्था नैं नेपालको सार्वभौमसत्ताको मेरुदण्डको रुपमा स्थापित छ । नेपालमा हिन्दु तथा बौद्धहरुको संरक्षकको रुपमा राजसंस्था नैं भएकाले नेपालीहरुले देशको हितको पनि हिन्दुअधिराज्य र राजसंस्थाको मान्यता हो । तर मलाई आश्चर्य लाग्छ– नेपाल जस्तो सार्वभौम अखण्ड नेपालको संवेदनशीलता नबुझेर नेपालका कतिपय पार्टीका नेताहरु विदेशीहरुको निर्देशनमा यो संसारको एक मात्र हिन्दु अधिराज्यलाई विस्थापित गराएर धर्मनिरपेक्ष, गणतन्त्र र अखण्ड नेपाललाई टुक्रयाउन संघीयता समेत लाधेर एसियाबाट नैं विश्वको एक सभ्य वैदिक सनातन हिन्दधर्म समाप्त गर्ने धृष्टता राख्नु कति ठूलो राष्ट्रघात होला । यसरी आफ्नो देश डुबाउन नेपाली आमाको काखमा जन्मिएकाहरु नैं पद र पैसाको लागि आफ्नी आमाको नैं हरण गराउने यो जस्तो ठूलो अपराध के होला ? त्यसैले म भन्छु कि अब यसरी आफ्नै देशको पहिचान र प्रतिष्ठा डुबाउने कुकर्मबाट अलग रहेर संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यको व्यवस्थाको महानता बुझेर आफूले गरेका अपराधहरुमा क्षमायाचना गरेर देशको लागि समर्पित हुन म सबैमा अनुरोध गर्दछु ।

विशाल नेपालको सिर्जना कसरी भयो भन्ने कुरा हामीले बिर्सनु हुँदैन । हिमवतखण्ड नेपालको एकीकरण भएको अवस्थामा अहिलेको विश्वका धेरैजसो प्रभावशाली कहलिएका राष्ट्रहरु टुक्रा टुक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि टुक्रा–टुक्रामा विभाजित जर्मनीलाई विस्मार्कले एकीकरण गरेका थिए । नेपालको एकीकरण हुनुभन्दा १०० बर्ष पछाडि इटाली पनि ससाना राज्यमा विभाजित थियो जसलाई कबुर र ग्यालिभर्दि जस्ता सपुतहरुको नेतृत्वमा विशाल इटालीमा परिणत हुन गयो । त्यस्तै नेपालको एकीकरण भएको १०० बर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापान मेजी रेष्टुरेसन पछि राजाको नेतृत्वमा विश्वको नजरमा प्रभावशाली राष्ट्रको रुपमा देखाप¥यो । नेपालको एकीकरण हुनुभन्दा दुईदशक भन्दा पछाडि, अहिलेको महाशक्ति राष्ट्रकोरुपमा परिचित अमेरिका बेलायतको उपनिवेश थियो । त्योसमयभन्दा पहिले पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टक्रा टुक्रामा विभाजित हिमवतखण्ड नेपालको एकीकरण गरेर यसक्षेत्रको मौलिकतालाई जोगाउने काम गरे । हामी नेपालीहरुको लागि सबैभन्दा गौरवको कुरा हो– अंग्रेजी साम्राज्यले खान लागेको अवस्थामा पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्डका स–साना ५४ भन्दा बढी हिन्दु राज्यहरुलाई एकीकरण गरेको बेलादेखिको नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य स्थापित हुन सकेकाले हामी नेपालीहरु र भारत तथा विश्वका हिन्दुहरुको लागि गौरवको कुरा हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस