पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न ६ विद्यार्थी संगठनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ताको माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

बुधबार बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

पछिल्लो समय इन्धन र खाद्यान्नको मूल्य चर्को वृद्धि भएको भन्दै उक्त मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका छन् । मूल्यवृद्धि नियन्त्रणका लागि भारतबाट मात्रै ल्याइने प्रशोधित इन्धनमाथिको एकाधिकार अन्त्य गर्दै अन्तर्राष्ट्रिय बजारबाट तेलजन्य कच्चा पदार्थ नेपाल आयात हुने वातावरण तयार गर्नसमेत उनीहरुले माग गरेका छन् । इन्धन व्यापारका विषय मात्रै नभएर जनताको दैनिक जीवनसँग जोडिएको आधारभूत आवश्यकता भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले बताइन् । उनले भनिन्, ‘सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन प्रधानमन्त्रीले दिनुभयो।’

‘यो संवेदनशील विषयमा नेपाल सरकार जवाफदेही भएर जनतालाई सहजरुपमा जीवनयापन गर्ने वातावरण तयार गर्नको लागि पेट्रोलियम पदार्थमा लगाएको कर घटाई मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘मूल्य वद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी सङ्गठन देशभर आन्दोलन सिर्जना गर्न बाध्य हुनेछ ।’

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई ६ विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस