बिजौरी । करिब दुई वर्षदेखि अलपत्र परेको जिल्लाकै गौरवको चारलेन सडक निर्माण कित्ता कित्तामा स्तरोन्नति हुने भएको छ । भारतको तथ्य इन्जिनियरिङ एण्ड इन्फाप्रोजेक्टले निर्माण थालेको सो सडक स्तरोन्नति परियोजना यस अघिका स्थानीय प्रतिनिधि अनुप पाण्डेको टिमको ढिलासुस्तीका कारण अलपत्र परेको थियो ।
नेपाल सरकार चारलेन सडक स्तरोन्नति परियोजनासँग भएको सम्झौता बमोजिम काम सन्तोषजनक नभएपछि निर्माण कम्पनीले निर्माण प्रतिनिधि अनुप पाण्डेलाई हटाएर नयाँ प्रतिनिधि बनाएर विभिन्न कित्ता बनाएर काम सम्पन्न गर्ने परियोजनाका डिइ पारश हमालले बताएका छन् । सडक निर्माणका क्रममा घोराही तुलसीपुर यातायात दयनीय अवस्थामा छ । सयौ स्थानमा खाडलैखाडल भएको सडकमा पैदल यात्रुलाई समेत सडकमा हिड्न मुस्किल भएको छ भने भत्काइएको सडकमा दर्जनौं दुर्घटनाहरु समेत भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । यसबीचमा ३ जनाले विभत्स सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन् ।
निर्माणधिन सडकमा रुख काट्ने काम सम्पन्न भए पनि विद्युत पोल हटाउने काम भने अझै सुरुआत भएको छैन । परियोजना कार्यालयले निर्माण सम्झौता भएको मितिदेखि हालसम्म बढीमा ७ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाएको छ । कहिले विद्युत पोलको समस्या त कहिले कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै सो सडक स्तरोन्नतिको म्याद दुई पटकसम्म थपिएको थियो ।

दुई पटकसम्म थपिएको मितिअनुसार अबको ७ महिनामा चारलेन सडक निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने छ । तर अहिले सडकमा एक जना पनि कामदार देखिएका छैनन् । स्वामित्व हस्तान्तरणकै विवादले विगत एक वर्षदेखि चारलेन सडक स्तरोन्नतिको काम सुन्य प्राय रहेको छ ।
चारलेन सडक स्तरोन्नति परियोजना कार्यालय लमहीका प्रमुख डिइ पारश हमालकाअनुसार अबको केही दिनमै काम सुरु हुने छ । परियोजनाले निर्माण कम्पनी भारतको मुम्वै स्थित तथ्यइन्जिनियरिङ एण्ड इन्फाप्रोजेक्टलाई पत्राचार गरेपछि सो कम्पनीका प्रबन्ध निर्देशक प्रविण पाण्डे नेपाल आएका छन् । उनले केही दिनमै थप पार्टी खोजेर कित्ता कित्तामा काम थाल्ने बताइएको छ ।
‘५/६ किमिका कित्ता बनाएर फरक फरक पार्टीबाट निर्माणको काम हुने तयारी भएको छ, सम्भवतः तोकिएको समयमा धेरै काम हुने आशा गरेका छौं’, परियोजना प्रमुख हमालले बताए । म्याद थपिएको अन्तिम मिति आउन अब ७ महिना मात्र बाँकी छ । यस अवधिमा निर्माण कम्पनीले सन्तोषजनक काम गरेको पाइएमा ५÷७ महिना पुनः म्याद थप गर्न सकिने छ, अन्यथा ठेक्का खारेजको प्रक्रियामा जाने छौं’–हमालले भने ।
भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा करिब एक अर्ब रुपैयाको लगानीमा घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तिखौवासम्म सडक चारलेन बनाइने छ । करिब २८ किमि लम्बाइ रहेको यो सडकको चौडाइ कम्तिमा २१ मिटर कायम गरिने छ । एकातर्फ ७ मिटर र अर्को तर्फ ७ मिटर चौडा सडक कालोपत्रे हुने छ । बीचमा ग्रिनबेल्ट र छेउछेउमा फुटपाथ गर्दा सडकको चौडाइ २१ मिटर कायम हुने परियोजनाको कार्यालयले जनाएको छ ।
सडक कुइरेपानीदेखि कटुवाखोलासम्म चारलेन बनाइने छ । कटुवाखोलादेखि डिकेपम्पसम्म भने सडक यथावत हुने छ । डिकेपम्पबाट सर्रा चोकसम्म चारलेन हुने छ । त्यसपछि सर्रादेखि झारबैरा चौकसम्म सडक यथावत रहने छ । झारबैरादेखि खैरा चौकसम्म चारलेन हुनेछ भने खैराबाट दुधराससम्म यथा अवस्थामा रहने छ । त्यस्तै दुधरासदेखि तुलसीपुरको हात्तिखौवासम्म भने पुरै सडक चारलेनमा स्तरवृद्धि हुने परियोजनाले जनाएको छ ।
बाँकी क्षेत्रमा अर्को कार्यक्रमअनुसार सडक चारलेन बनाइने पनि परियोजना प्रमुख हमालले बताएका छन् । चारलेन सडकमा आवश्यक स्थानमा मात्र नाला निर्माण हुने छन् भने यो कार्यक्रममा निर्माण भैसकेका पक्की पुल भने यथाअवस्थामा रहने छन् । यसअघि बनेकै पुलबाट केही वर्ष काम चलाउने र आवश्यकताअनुसार पुलमा पनि साइडमा अर्को पुल निर्माण गर्दै लैजाने परियोजनाको कार्यक्रम रहेको बताइएको छ । पुल बन्न बाँकी खोलाहरुमा पक्की पुल निर्माण भने यो परियोजना अन्तर्गत हुने छैनन् ।
साक्षी खबरबाट


