बलात्कारका दोषीलाई कडा सजायको माग

काठमाडौँ । प्रतिनिधिसभा संसदको बैठकमा बलात्कार घटनामा सङ्लग्न अपराधीलाई कडा सजायको व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् । सांसद रञ्जु दर्शनाले बलात्कार जस्तो जघन्य अपराध बढ्दै गएको भन्दै यस्ता अपराधमा सङ्लग्न दोषीलाई कडा कानुनको व्यवस्था हुनुपर्ने आवाज विगतदेखि उठ्दै आएको बताइन् । उनले विद्यालय तहको पाठ्यपुस्तकमा यौनसम्बन्धी शिक्षाको व्यवस्था गर्नुपर्ने भनाइ पनि राखिन् ।

उनले भनिन, “हामी सधैँभरी यौन शिक्षा भन्ने बित्तिकै मुख फर्काउँछौं त्यो हटाइयोस् । घटनास्थलमा जो पुलिसहरु पुग्नुहुन्छ, उहाँहरुको क्षमता विकासमा नेपाल सरकारले काम गरोस् ।” समाजमा महिलाप्रतिको दृष्टिकोण परिवर्तन नभएसम्म छोरी वा कुनै महिला सुरक्षित नहुने उनको भनाइ छ ।

त्यस्तै सांसद आशिका तामाङले देशमा बलात्कारीलाई सजाय दिने कानुनमा छुट्टै के व्यवस्था छ भनेर प्रश्न गरिन् । उनले समाजमा यस्ता घटना घटिसकेपछि मात्रै कडा कानुन र सजायको विषय बाहिर आउने गरेको बताइन् । “कडा सजाय भनेको के हो ? सभामुख महोदय म भन्छु, नम्बर एक फाँसीको व्यवस्था । नम्बर दुई जेल लाने तर खानपिन गर्न नदिने । नम्बर तीन, दुवैको व्यवस्था गर्न नसके बलात्कारीले आफ्नो जुन अङ्ग प्रयोग गरेर बलात्कार गरेको हो, सो अङ्गको छेदन”, उनले भनिन, “सभामुख महोदय, अपराधीले गरेको क्रुरता हेरेर सोही अनुसारको कानुनको व्यवस्थामा परिवर्तन नभएसम्म बाराकी तीन वर्षीया गरिमा चौधरी, कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्त जस्ता नानीहरुको आत्माले न्याय र शान्ति पाउनेछैनन् ।”

यसैगरी, सांसद श्रद्धा कुँवर क्षेत्रीले सदन र सरकारमा महिलाको ऐतिहासिक सहभागीता भएपनि महिलामाथिको प्रहार नरोकिएको बताइन् ।

उनले भनिन्, “छोरी भएकै कारण जन्मिनु अघि नै आमाको कोखमा हत्या हुन्छ । जन्मेर बोली फुट्नु अगावै उनी गरिमा चौधरी बन्छिन् । बाँचेर हिड्डुल गर्ने उमेरमा पुग्दा निर्मला पन्त र मुस्कान खातुन बन्छिन् सबैबाट बचेर विवाह भएर आफ्नो सबथोक छोडेर लक्ष्मी बनेर घर भित्रिँदा उनी दाइँजो नाममा पीडित हुन्छिन् र आफ्नै श्रीमान्बाट काटिन बाध्य हुन्छिन् । आफ्नै शरीर र आत्मसम्मानको धज्जी उडाउँदै गरेको चित्कार बोकेर पनि मृत्युबाट बचिन् भने उनी जीवित लाश सरह बनेर बाँच्न बाध्य हुन्छिन् ।” बलात्कार जस्तो जघन्य अपराधमा कडा कानुनको व्यवस्था मिलाउनुपर्ने उनको माग छ ।

सांसद प्रमिला कुमारी गच्छेदारले छोरीहरु कहिलेसम्म असुरक्षित हुने हो भनेर प्रश्न गरिन् । उनले भनिन्, “हाम्रा छोरीहरु कहिलेसम्म असुरक्षित रहनुपर्ने ? न घरमा सुरक्षित छन्, न त विद्यालयमा सुरक्षित छन् न त गाउँ बस्तीमै । सप्तरीमा दुई वर्षीय खुसी खातुनको हत्या भएको छ । बाराको अवोध तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।”

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस