दाङसहित देशभर आजदेखि राष्ट्रिय जनगणना शुरु


दाङ–
दाङसहित देशभर आजदेखि राष्ट्रिय जनगणनाको काम शुरु भएको छ । दाङमा जनगणनाका लागि ८ सय ४ जना गणक खटिने भएका छन् ।

दाङका दश वटै पालिकामा ८ सय ४ गणक खटिन लागेको जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरमा २२३, घोराहीमा २५०, बंगलाचुलीमा ३८, दंगिशरणमा २७, बबई गाउँपालिकामा ३८, शान्तिनगरमा ३३, लमहीमा ७२ जना गणक खटिने भएका छन् । यस्तै राप्ती गाउँपालिकामा ५८, गढवा गाउँपालिकामा ४८ र राजपुरमा २६ जना गणक खटिने भएका छन् ।

जनगणनाका लागि यसअघि सुपरिवेक्षकले घर सुचिकरण गर्ने काम गरेका छन् । गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरिवेक्षकले घर सुचिकरण गर्ने काम सकिसकेका छन् । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्ने छन् ।

दाङमा करिब १ लाख ६५ हजार घर परिवार रहेको तथ्यांक प्राप्त भएको प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक जिल्ला जनसंख्या ६ लाख ६५ हजार पुग्ने अनुमान गरिएको छ ।

दाङसहित देशभर आजबाट शुरु भएको राष्ट्रिय जनगणना मंसीर ९ गते सकिने छ । हरेक १०-१० वर्षमा हुने जनगणना गरिन्छ । विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस