
एजेन्सी । संसारका अधिकांश विकासशील तथा कम विकशित देशहरुका लागि जनसंख्या वृद्धि समस्याको रुपमा रहेको छ । त्यसैले त्यस्ता देशका सरकारहरुले जनसंख्या वृद्धि नियन्त्रणका लागि विभिन्न खालका नीति नियम तथा कानूनहरु लागू गर्ने गरिरहेका छन् ।
तर संसारमा कतिपय यस्ता देशहरु पनि छन् जहाँ जनसंख्या बढाउनका लागि सरकारले जनतालाई विभिन्न खालका प्रलोभनहरु देखाउनु परिरहेको छ ।
हालै अष्ट्रेलियाको क्विल्पी सहरले एउटा अनौठो खालको नीति सार्वजनिक गर्यो । जनसंख्या निकै कम भएको उक्त सहरको प्रशासनले सहरको जनसंख्या बढाउनका लागि सित्तैमा जग्गा बाँड्ने योजना अगाडि सारेको छ ।
हाल सहरको जनसंख्या जम्मा ८ सय मात्र छ। न्यून जनसंख्या सहरको अस्तित्वका लागि समेत चुनौती बनिरहेको छ । त्यसैले नगर प्रशासनले जनसंख्या बढाउन नयाँ उपाय खोजेको हो ।
उक्त सहरमा गएर घर बनाएर बसोबास गर्न चाहने अष्ट्रेलियन नागरिकलाई सित्तैमा जग्गा मात्र होइन भत्ता पनि दिने स्थानीय प्रशासनको भनाइ छ ।
सित्तैमा जग्गा र भत्ता दिने योजना अगाडि सारे पनि यो सफल हुनेमा स्थानीय नगर प्रशासनलाई आशंका थियो । तर सो योजनाले अप्रत्याशित रुपमा आकर्षण गराएको छ ।
हालसम्म अढाइ सयभन्दा धेरै मानिसले नगर प्रशासन समक्ष उक्त योजनाका विषयमा चासो व्यक्त गर्दै आवेदन दिएका छन् ।